समाज

अस्पतालका कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सर्लाही– सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ। आक्रमणबाट मृतकका छोरा समेत गम्भिर घाइते भएका छन्। 

मलंगवा नगरपालिका–९ स्थित आँखा उपचार केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय अमितकुमार वैठाले घन प्रहार गरेर डा. दिपेन्द्र रजककी श्रीमती २६ वर्षीया सुप्रिया भारतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वैठाले घनले प्रहार गर्दा सुप्रियाका ४ वर्षीया छोरा दिवस समेत गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार विहीबार दिउँसो सबा १ बजे अस्पतालकै दोस्रो तला स्थित निवासमा बसिरहेको अवस्थामा वैठाले आमाछोरामाथि घन प्रहार गरेका थिए। 

टाउकोमा घन प्रहार गर्दा सुप्रियाको घटनास्थलमै मृत्यु भएको छ। टाउकोमा गहिरो चोट लागेर गम्भीर घाइते बालक दिवसलाई सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि वीरगंज पठाईएको प्रहरीले जनायो। 

हत्यामा संलग्न आरोपी वैठा रौतहट जिल्ला यमुनामाई गाउँपालिका–३ राजपुर घरभई हाल अस्पतालमा कार्यरत डा. रजकका भिनाजुका भाई भएको बताइएको छ। हत्या आरोपी वैठा भने रौतहटकै बौधिमाई नगरपालिका सरमुजबा निवासी हुन्।

हत्या लगतै वैठा भारततर्फ भागेको प्रहरीले जनाएको छ। हत्याको कारणभने खुलेको छैन।

प्रकाशित: १२ असार २०७६ १५:१२ बिहीबार

हत्या महिला सर्लाही_आँखा_उपचार_केन्द्र कर्मचारी