समाज

‘पुस्तकमा कर लगाउने निर्णय कार्यान्वयन गर’

काठमाडौं – मुद्रण व्यवसायीहरुले विदेश छपाइ गरी नेपाल आयात गरिने पुस्तकहरूमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्था अनिवार्य कार्यान्वयन गर्न माग गरेका छन्।

सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ देखि लागू हुने गरी विदेशबाट आयात गर्ने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने निर्णयको विरोध भइरहेका बेला मुद्रण व्यवसायीले निर्णय कार्यान्वयनको माग गरेका हुन्।

मुद्रण व्यवसायीले उच्च गुणस्तरको छपाइ नेपालमै सम्भव भइसकेको र विदेशी प्रकाशनका पुस्तक नेपालमा छाप्न सके ५० प्रतिशत सस्तो पर्नुका साथै थप रोजगारी पनि सिर्जना हुने भन्दै निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएका छन्।

मुद्रणसँग सम्बन्धित विभिन्न ६ वटा संघसंस्थाले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी सरकारको निर्णयको विरोध प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय कार्यान्वयनको माग गरे।

संविधानको मौलिक हकअन्तर्गत राखेर निःशुल्क शिक्षाको व्यवस्था गरिरहँदा किताबमा कर लगाउने निर्णय गरेर शिक्षा र ज्ञान आर्जनमा अवरोध सिर्जना गर्न खोजिएको भन्दै विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत भन्सार कर लगाउने सरकारको निर्णयको सदनदेखि सडकसम्म विरोध हुँदै आएको छ।

प्रकाशित: ११ असार २०७६ १२:२६ बुधबार

मुद्रण_व्यवसायी भन्सार_महसुल कार्यान्वयन