समाज

विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन लाखसहित पक्राउ

चितवन- विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह रहेको छ। भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनका साथबाट ६ थान मोबाइलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नेपाली तथा भारतीय नागरिकसमेतलाई आबद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएको शाहले विगतमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको दाबी प्रहरीको छ।

पक्राउ परेका शाहलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा १२५ को उपदफा ४ बमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए। कसुरमा बरामद बिगो जफत गरी एक वर्ष कैद र रु दश हजारसम्मको जरिवाना हुने कानूनी व्यवस्था छ। शाह खाद्यान्न व्यापारी हुन्।

प्रकाशित: ११ असार २०७६ ०७:११ बुधबार

विश्वकप_क्रिकेट सट्टेबाजी पक्राउ