समाज

यी स्थानीय तहले ल्याएनन् बजेट

खोटाङ – खोटाङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले बजेट ल्याएनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले बजेट ल्याएनन् ।

समायोजनले कर्मचारी अभाव हुँदा र तयारी नपुग्दा असार १६ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । खोटेहाङको तीन वडा सचिवविहीन छन् ।

वडामा पठाइएको ‘सिलिङ’अनुसार योजना बनाएर ल्याउन ढिला भएकाले रावाबेँसी गाउँपालिकाको गाउँसभा पनि असार १६ गतेका लागि सारिएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

नीति तथा कार्यक्रम एवम् बजेटको सम्पूर्ण तयारी भए पनि विद्युत् प्राधिकरणमा काम परेर काठमाडौं जानुपर्ने भएकाले असार १७ गते गाउँसभा गर्ने तयारी गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

जन्तेढुंगा गाउँपालिकाको भने अहिलेसम्म टुंगो छैन । असार २० गतेतिर नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी छलफल भइरहेको प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईले बताए । ‘बजेटको बारेमा अहिलेसम्म छलफलनै हुन सकेको छैन,’ उनले भने ।

बराहपोखरी गाउँपालिकाको असार १५ गते गाउँसभा गर्ने तयारी गरिएको उपाध्यक्ष गोमा मगरले जानकारी दिइन् ।

प्रकाशित: ११ असार २०७६ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App