समाज

गाईघाटमा बम, कटारीमा शंकास्पद बस्तु

उदयपुर– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपाको बन्दको दिन मंगलबार उदयपुर सदरमुकाम गाईघाटमा सुतली बम भेटिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका १२ आदर्शटोलस्थित वडा कार्याालय नजिकै फेला परेको बम सुरक्षाकर्मीले निष्किृय पारेको छ। 

नगरपालिकाको प्रस्तावित ‘नगर नमूना मार्ग’ डिएमगेट–लक्ष्मीपुर–पोर्ताहा खण्डको डिएमगेटदेखि सुम्निमा चोकबीचमा पर्ने वडा कार्यालय र नेस्पेक उदयपुर कार्यालय नजिकै विहान ५ः०० बजे स्थानीयले शंकास्पद बस्तु देखेर प्रहरीलाई खवर गरेका थिए। प्रहरी टोली पुगेर हेर्दा सुतली बम देखेपछि नेपाली सेनाको डिस्पोजल टोली बोलाएर ९ः०० बजे निस्कृय पारेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। 

‘हामीलाई विहानै १२ नं. वडा कार्यालय नजिकै शंकास्पद बस्तु भेटिएको खवर आएपछि टोली खटायौं’ एसपी मगरले भने ‘सुतली बम रहेछ, १८ नं. बाहिनी अड्डाबाट डिस्पोजल टोली बोलाएर निस्कृय पारिसक्यौं।’ उनले बन्दको आह्वानकर्ता समूहबाटै सर्वसाधारणमा आतंक मच्चाउन बम राखेको हुनसक्ने अनुमान गरे। 

उता जिल्लाको पश्चिम कटारी बजारमा शंकास्पद बस्तु फेला परेको छ। कटारी नगरपालिका ३ भगवति मन्दिर नजिकै कपडा पसलछेउमा कालो झोला भेटिएको र त्यसभित्र शंकास्पद बस्तु रहेको भन्दै सेना बोलाइएको छ। इलाका प्रहरी कार्यालय कटारीका अनुसार विहानै सडकमा कालो प्लास्टिकको झोला देखेर स्थानीयले खवर गरेका थिए। प्रहरी पुगेर चेकजाँच गर्दा बम पनि हुनसक्ने भन्दै सेनाको डिस्पोजल टोली बोलाइएको इप्रका प्रमुख डिएसपी राजु केसीले बताए। उनका अनुसार प्लास्टिक झोला उचाल्दा गहुूँ्र पाइएपछि २ नं. प्रदेशको चोहर्वास्थित नेपाली सेनाको २७ नं. बाहिनी अड्डाबाट आएको डिस्पोजल टोलीले झोला नियन्त्रणमा लिएर तावा खोलातर्फ लगेको छ। 

डिएसपी केसीले बीच बजारमै शंकास्पद बस्तु राखेर बजारबासीमा आतंक सिर्जना गर्न खोजिए पनि बम भए नभएको यकिन नभएको बताए। बम हो होईन भन्ने कुरा केहीबेरमै पत्ता लाग्ने उनले बताए।

प्रकाशित: १० असार २०७६ १४:२० मंगलबार

बम उदयपुर विप्लव_समूह बन्द