समाज

२० क्विन्टल माछा नष्ट

फाइल तस्बिर

महोत्तरी – एकडारा गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको पोखरीमा गए राति अज्ञात व्यक्तिले विषादी हालिदिँदा २० क्विन्टल माछा नष्ट भएको छ। प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार सो विद्यालयको पोखरीमा अज्ञात व्यक्तिले नाम नखुलेको विषादी हालिदिँदा विभिन्न जातका २० क्विन्टल माछा नष्ट भएको हो।

विद्यालयकै स्वामित्वमा रहेको तथा त्यसको आम्दानीसमेत विद्यालयले नै लिने गरेको पोखरीमा अज्ञात व्यक्तिले विषादी हालिदिँदा विद्यालयको  पाँच लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए। विषादी हाल्ने व्यक्तिको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।रासस

प्रकाशित: १० असार २०७६ ०७:३० मंगलबार

विषादी माछा_नष्ट