समाज

कपाल काट्न खोज्दा बिरामी!

कपाल काट्दा बिरामी पर्ने समस्याले पीडित सर्वजित राई। तस्बिर : नागरिक

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका सर्वजित राई १७ वर्षका भए। तर हालसम्म उनको कपाल काटिएको छैन। जन्मेदेखि नकाटेकाले उनको कपाल लट्टा परेको छ। कारण, उनको केसमा कैंची लगाउँदा अचानक बिरामी पर्छन्, बेहोस हुन्छन्। त्यस दिन उनी खानासमेत खान मान्दैनन्।

सर्वजित प्रेमबहादुर राईका तीन भाइमध्ये कान्छा हुन्। उनी जन्मजात अशक्त छन्। दुवै हात बटारिएजस्तो खुम्चिएका छन्। बोली पनि लाग्दैन। आफन्तको सहारामा मात्र हिँडडुल गर्न सक्छन्। शारीरिक रूपमा अशक्त त्यसमाथि कपाल काट्न खोज्दा उनी के कारणले बिरामी पर्छन् सो विषय भने रहस्यमय देखिएको जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले बताए।

अपांगता भएकाले २०५१ सालदेखि तत्कालीन गाविसबाट मासिक पाँच सय भत्ता पाइरहेका सर्वजितले हाल वडा कार्यालयबाट मासिक दुई हजार भत्ता पाइरहेका छन्। अपांगताको रातो कार्ड पाएका उनलाई बालकदेखि नै फुपू भद्रकाली राईले हेरचाह गरिरहेकी छिन्। भद्रकाली पनि ८१ वर्ष पुगिसकेकी छन्। शारीरिक रूपमा अपांगता भए पनि सर्वजितले खुट्टाले मोबाइल चलाउने गरेका छन्। विद्यालय नगए पनि उनमा मोबाइलबाट फोन गर्ने, रिसिभ गर्ने र नम्बर सेभ गर्ने कला छ।

प्रकाशित: १० असार २०७६ ०३:४७ मंगलबार

दिप्रुङ_चुइचुम्मा_गाउँपालिका कपाल बिरामी