समाज

लोकसेवा विज्ञापनमा सवा ३ लाखको आवेदन

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि आवेदन मागेकोमा सोमबार दिउँससम्म ३ लाख २० हजार ८ सय ७९ जनाको आवेदन परेको छ। यो मागभन्दा ३५ दशमलव शून्य २ गुणा बढी हो।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको संख्यामा वृद्धि भएकोले सर्भरको क्षमता दोब्बर गराएको जानकारी दिए। उनका अनुसार अहिले प्रतिमिनेट एक सय जनाले फाराम भरिरहेका छन्।

एकैपटक धेरै सख्यामा फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएपछि क्षमता वृद्धि गरेको हो। पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्,’ सुवेदिले भने, ‘अहिले पछिल्लो समय चाप बढेको छ।’ असार १० गतेसम्म एकल दस्तुर र असार १७ गते सम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ।

आयोगले ५ सय १५ स्थानीय तहका लागि आवेदन फाराम माग गरेको छ। संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि अन्योलताको स्थितिमा समेत आवेदन आउने क्रम रोकिएको छैन।

प्रकाशित: १० असार २०७६ ०३:१४ मंगलबार

लोकसेवा_आयोग विज्ञापन आवेदन