समाज

हिरासतमै झुण्डिएको अवस्थामा भेटिइन महिला

सांकेतिक तस्बिर

लहान– मोबाइल चोरीको मुद्दामा प्रहरी हिरासतमा रहेकी एक महिला आफ्नै साडीले पासो लगाएको अवस्था भेटिएकी छिन्। इलाका प्रहरी कार्यालय महेशवारीको हिरासत कक्षसँगै रहेको शौचालयमा सुमनदेवी ठाकुरको आइतबार बिहान झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी हुन्।

ठाकुरलाई मोबाइल चोरीको आरोपमा शनिबार दिउँसो लहान प्रहरीले पक्राउ गरेको थियो। सामसुङ ब्राण्डको मोबाइल लहानमा बजारस्थित एक गृह उद्योगमा बिक्रि गर्न गएको बेला सूचना पाएर गएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

श्रीमती मोवाइल चोरीमा पक्राउ परेकोबारे प्रहरीले उनका श्रीमान लक्ष्मण ठाकुरलाई खबर गरेका थिए। तर, लक्ष्मणले श्रीमती (सुमन) धेरै पटक चोरीमा पक्राउ परिसकेकोले आफू आजित भैसकेको प्रहरीलाई बताएका थिए। प्रहरीले सुमनलाई आवश्यक कानुनी प्रक्रिया (पक्राउ पुर्जी) पूरा गरि महिला कक्ष नभएकाले लहानबाट ईलाका प्रहरी कार्यालय महेश्वारी पुर्याएका थिए। बैंकिङ कसुरमा पक्राउ परेकी गोमा अधिकारीसँगै सुमनलाई शनिबार साँझ इलाका प्रहरी कार्यालय महेश्वारीस्थित महिला कक्षमा महिला प्रहरीको निगरानीमा राखिएको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले नागरिक न्यूजलाई बताए। उनी चैत महिनामा चोरीकै आरोपमा पक्राउ परि अदालतबाट धरौटीमा छुटेको प्रहरीको अभिलेखमा देखिन्छ।

आइतबार बिहान अधिकारीसँगै हिरासतमा रहेकी सुमन चिया अर्डर गरेर सौचालय जान्छु भनिन्। शौचालय पसेको १० मिनेटमा उनी बाहिर नआएपछि प्रहरीले भित्र पसेर हेर्दा आफ्नै साडीले घाँटीमा पासो लगाएर धाराको टुटी नजीकको भेन्टिलेसनको जाली उप्काएर रडमा झुण्डिएको अवस्थामा फेला पारेको जनाएको छ। 

आइतबार मानवअधिकारवादी, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा शवको मुचुल्का गरि पोष्टमार्टम गरेर शव उनका श्रीमान लक्ष्मणको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ‘पोष्टमार्टमको भिसेरा रिपोर्टमा जे कैफियत आउँछ सोहीअनुरुपको काराबही अघि बढ्छ’ एसपी चतुर्वेदीले भने ‘प्रारम्भिक अनुसन्धानबाट उनी आफै पासो लगाएर आत्महत्या गरेको देखिन्छ।’ 

प्रकाशित: ९ असार २०७६ १४:०१ सोमबार

चोरी_मुद्दा प्रहरी_हिरासत मृत_फेला