समाज

झरीले पनि छेकेन शैक्षिक मेला

फोक्सुण्डो आधारभूत विद्यालयमा गरिएको पढाइउत्सव अन्तर्गतको शैक्षिक मेला। तस्बिरः नागरिक

डोल्पा – मुसलधारे पानी परिरहेको थियो। तर, पनि अभिभावकहरू आफ्ना बालबालिकासहित झरीको कुनै प्रवाह नगरी निर्थुक्क भिजेर बसिरहेका थिए।

उनीहरूको एकाग्र उपस्थितिलाई हेर्दा लाग्थ्यो, कुनै ठूलै वस्तु प्राप्तिका लागि वर्षात् र कामको प्रवाह नगरी प्रतीक्षारत छन् जस्तो। अघिपछि विद्यालयमा न्यून उपस्थिति हुने गरेका त्रिपुरासुन्दरी नगरपालिका–५ र ६ का अभिभावक झरीले निथ्रुक्क भिजेर भए पनि विद्यालयमा भेला भएका थिए।

फोक्सुण्डो आधारभुत विद्यालय खदाङमा सुरु भएको पढाइ उत्सव नाम दिइएको शैक्षिक मेलामा आफ्ना बालबालिकाहरूको शैक्षिक गुणस्तर बुझ्न अभिभावकहरू भेला भएका हुन्। विद्यालय परिसरमा पाल हालेर बनाइएको मन्चमा शैक्षिक कक्षा स्टलहरू राखिएका थिए।

कक्षा १, २ र ३ का बालबालिकाका लागि छुट्टाछुट्टै राखिएको कक्षा स्टलहरूमा बालबालिकालाई एक÷एक गरेर निश्चित समय दिएर पढ्न, भन्न र लेख्न लगाइएको थियो।
आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर बुझ्न पहिलो पटक पढाइ मेलामा सहभागी भएका अभिभावक जंगबहादुर रोकायाले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गतको पढाइ कुना मेलाले पढाइमा सुधार ल्याएको बताए।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले विगतमा कृषिलाई प्राथमिकता दिएर स्याउ, ओखर र अंगुर खेतीलाई बजेट विनियोजन गरेकोमा अबको नगरको पहिलो प्राथमिकता शिक्षालाई दिएर बजेट विनियोजन गरिने बताए।

 

प्रकाशित: ९ असार २०७६ ०७:०४ सोमबार

त्रिपुरासुन्दरी विद्यालय शैक्षिक_मेला बालबालिका