समाज

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी, अवस्था तनावग्रस्त

महोत्तरी– अस्पतालका चिकित्सकको लापरवाहीले चार वर्षीया बालिकाको मृत्यु भएको भन्दै परिवारजनले तालाबन्दी गरेका छन्। 

जिल्ला अस्पताल जलेश्वरमा उपचारको लागि ल्याइएको जलेश्वर नगरपालिका ३ खैरा घर भएको प्रमोद राय यादवको ४ वर्षिया छोरी शिवानी कुमारी यादवको मृत्यु भएपछि आफन्त तथा स्थानीयले तालाबन्दी गरेका हुन्। तालाबन्दीका क्रममा अस्पतालमा अवस्था तनावग्रस्त हुन पुगेको थियो।

बालिकाको मृत्यु भएलगत्तै आफन्तले अस्पतालमा मेडिकल सुपरिटेन्डेट डाक्टर राजीव झाको कार्यकक्षसहित अन्य डाक्टरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै प्रदर्शन समेत गरेका थिए। 

विरामी भएकी बालिका शिवानीको उपचारका लागि जिल्ला अस्पाताल जलेश्वरमा आइतवार बिहान भर्ना गरिएको थियो। बिहान इजेक्सन लगाएर अञ्चल अस्पताल जनकपुरमा रेफर गर्दा अस्पताल परिसरमै मृत्यु भएपछि आफन्तहरु आक्रोशित भएका थिए। 

उपचारका लागि अस्पताल ल्याएका बालिकाको इजेक्सन लगाएको केही क्षणमा नै मृत्यु भएपछि डाक्टर र नर्स भागेको पीडित पारिवारले जनाएको छ। मृतकका हजुर बुबा राधेश्याम रायका अनुसार नातिनीलाई ज्वरो लागेर अस्पताल ल्याइएकोमा इजेक्सन लगाएलगत्तै अवस्था सिकिस्त भएको र उपचारमा संलग्न चिकित्सकसमेत भाग्नुले गलत औषधि प्रयोग भएको देखिएको बताए।

चिकित्सककै लापरबाहीका कारण बालिकको मृत्यु भएको निष्कर्ष निकाल्दै परिवारजन तथा आफन्तले तालाबन्दी गरेपछि तत्काल त्यहाँ प्रहरी पुगेर स्थितिलाई समान्य पार्न सक्रिय भएका थिए। 

अस्पतालमा परिसरमा आफन्तहरूको उपस्थिती रहेकोले अहिले पनि सुरक्षाकर्मी तैनाथ गरिएको छ। अहिले अस्पताल परिसर तनावग्रस्त छ।

यसैबीच जलेश्वर वडा नं. २ का वडा अध्यक्ष वरुण दहाल, निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सांसद रानि शर्मा तिवारी र वडा नं. ३ का वडा अध्यक्ष संजय पाण्डले अस्पतालमा पुगेर घटनाको छानविन गर्न माग गरेका छन्।

प्रकाशित: ८ असार २०७६ १६:०३ आइतबार

बालिका मृत्यु उपचार जलेश्वर_अस्पताल तालाबन्दी