समाज

भारतीय बाँधले यसरी डुबायाे नेपाली भूमि (फोटोसहित)

नेपालगन्ज – भारतले निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन्। नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो।

उत्तरतिरबाट बग्ने पानीलाई पूर्वपश्चिममा फैलिएको बाँधजस्तो सडकले थुन्दा नरैनापुरको वडा नम्बर १, २ र ३ मा सबैभन्दा बढी डुबान गरेको छ। नरैनापुरको बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपूर्वा, रोशनपूर्वालगायत दर्जनौं गाउँ डुबेका छन्।

अधिकांश गाउँ डुबानमा पर्दा स्थानीय बासिन्दा विस्थापित भएका छन्। त्यहाँका करिब एक सय बढी घर डुबेको र करिब एक दर्जन घर भत्किएको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए। ‘उत्तरतिरबाट बग्ने पानीको निकासलाई भारतीय बाँधले रोकिदियो, त्यहाँ जम्मा भएको पानी नरैनापुरको बस्तीमा पसेर क्षति पुर्‍यायो,’ उनले भने। 

अधिकांशको घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तनमा नोक्सानी पु¥याएको गाउँपालिका अध्यक्ष शाहले सुनाए। डुबानमा परेका पीडितको उद्धारका लागि गाउँपालिका अध्यक्ष शाह स्वयं खटिए। स्थानीयको घरमा एक मिटरभन्दा माथि पानी पसेको शाहको भनाइ छ।

बाढीले निर्माणाधीन हुलाकी सडकमा पनि क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार भारतले पूर्वपश्चिममा फैलाएर निर्माण गरेको बाँधजस्तो सडकमा पानीको निकास छाड्ने यसअघि प्रतिबद्धता जनाएको थियो। भारतले पानीको निकास छाड्ने ह्युमपाइप राखे पनि त्यहाँबाट सहजरूपमा पानी बग्न नपाएको स्थानीय बताउँछन्। 

इलाका प्रहरी कार्यालय भगवानपुर इन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले भारतीय बाँधकै कारण नेपाली भूमि डुबानमा परेको बताए। ‘भारतले बनाएको बाँधले पानी थुनेपछि डुबान भएको हो,’ उनले भने।

नरैनापुर–१, कट्कुइँयास्थित वडा कार्यालय पनि डुबानमा परेको छ। डुबानपीडितको उद्धार गर्न कठिनाइ भईरहेको गुनासो गर्दै गाउँपालिका अध्यक्ष शाहले भने, ‘बिहानै सिडिओ साबलाई फोन गरेर सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको थिएँ, तर उहाँले हेराँैला मात्रै भन्नुभयो, यहाँ जनता डुबेर मर्ने अवस्था आइसकेको छ, अहिले पनि म फिल्डमै खटिरहेको छु।’


 

‘बाँधजस्तो_सडक’ नरैनापुर गाउँ_डुबान भारत