काठमाडौं – अनुमान गरिएभन्दा झन्डै १० दिनपछि नेपालमा मनसुन प्रारम्भ भएको छ । मौसम पूर्वानुनमान महाशाखाले शनिबार दिउँसोदेखि देशको मध्य र पश्चिममा देखिएको बादलको प्रणाली थप शक्तिशालि हुँदै पश्चिमतीर सर्न थालेको जनाएको छ ।
बादल प्रणाली पश्चिमतीर थप शक्तिशाली हुँदै गए पछि आइतबार पश्चिमका धेरै स्थानहरुमा मध्यम वर्षा हुनुका साथै केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । यसैगरी सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका तराईका भूभागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यसैगरी सोमबार राती देशका पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
मनसुन प्रारम्भ भएसँगै देशभर वातावरण चिसो हुँदै गएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो सुरू भएको छ । यो सिद्धान्त लागू भएको भए जेठ २७ बाटै नेपालमा मनसुन सुरु हुने थियो ।
प्रकाशित: ८ असार २०७६ ०३:१० आइतबार