समाज

उदयपुरमा अघोषित लोडसेडिङ

उदयपुर– एक/आधा घण्टामा झ्याप्प/झ्याप्प बत्ती जान्छ। घरि मिनेटैपिछे, घरि मिनेटमा २ चोटीसम्म लाइन कट्छ। घरि तुरुन्त आउँछ, घरिघरि एक/आधा घण्टासम्म फर्कंदैन। विद्युत् नियमित हुने मौसम (वर्षायाम) मै गर्मी चढेका बेला उदयपुरमा विद्युत् आपूर्तिमा भएको चरम अनियमितताले पछिल्लो एक महिनायता जिल्लावासी कष्टप्रद जीवन ज्युँन बाध्य छन्।

बत्ती कट्नेबित्तिकै नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रको फ्युज सेवामा फोन गरेर विद्युत् जानुको कारण सोध्न खोज्दा धेरैजसो फोन व्यस्त रहन्छ भने आक्कल झुक्कल घण्टी गइहाले पनि २/४ पटक डायल नगरेसम्म हतपत उठ्दैन। फोन उठिहाले तयारी जवाफ आउँछ ‘सिस्टम फेल भएको छ, केहीबेरमा आउँछ’, अथवा उल्टै चर्को स्वरमा प्रतिप्रश्न सोधिन्छ ‘हावाहुरी, पानी परेका बेला कहाँ लाइन आउँछ त?’

नेपाल विद्युत् प्राधिकरणले देशलाई ‘लोडसेडिङ मुक्त’ घोषणा गरिसकेको भए पनि उदयपुरमा भने नियमित विद्युत् अवरोधले जनता मारमा पर्नु परेको छ। अनियमिताको यस्तो चरम अवस्थालाई स्थानीयले ‘अघोषित लोडसेडिङ’ को संज्ञा दिएका छन्। यसले जिल्लावासीलाई गर्मीको पिरलोमा अत्यन्त कष्ट बेहोर्न बाध्य त पारेको छ।

प्रकाशित: ७ असार २०७६ ०८:०९ शनिबार

नेपाल_विद्युत_प्राधिकरण