समाज

चिनियाँ टोली काठमाडौं आउँदै, कहाँ–कहाँ हुँदैछ पेट्रोलियम पदार्थको अनुसन्धान ?

सुभद्रा धिताल

काठमाडौं– चीनबाट पेट्रोलियम पदार्थको अनुसन्धानका लागि एक टोली काठमाडौं आउँदैछ। नेपालको विभिन्न ठाउँमा पेट्रोल पाइने भएकाले अध्ययन तथा अनुसन्धानका लागि चिनियाँ टोली आउन लागेको हो।

२०३९ सालमा स्थापना भएको अन्वेषण परियोजनाले भौगर्भिक, भुभौतिक र भुरासायनिक सर्वेका आधारमा नेपालमा पेट्रोलियम पाउन सक्ने सम्भावना देखाएको थियो। पेट्रोलियम पाउने मूख्य क्षेत्र तराई र चुरे रहेको परियोजनाका सिनियर डिभिजन जियोलोजिस्ट गणेशनाथ त्रिपाठीले नागरिक न्यूजलाई जानकारी दिए। चिनियाँ टोलीले दैलेखदेखि तानसेनसम्म पेट्रोलियम अन्वेषण अन्र्तगत पहिलो चरणको काम गर्ने बताइएको छ। उक्त काम सम्पन्नका लागि ३ वर्षको समयावधि राखिएको उनले बताए।

सन २०१६ मार्चमा प्रधामन्त्रीको चीन भ्रमणको समयमा नेपालमा सम्भाव्यता अध्ययनका लागि सम्झौता सम्पन्न भएको थियो। सोही सम्झौता अनुरुप अहिले अध्ययन थालिएको हो।

पेट्रोलियम पदार्थ बन्नका लागि सेडिमेन्टरी बेसिन, सुक्ष्म जीव अर्थात तेल वनस्पतिको (ग्यास)को प्रचुर उपस्थिति, उच्च तापक्रम तथा दवावको उपस्थिति र रासायनिक प्रतिक्रिया जस्ता वातावरणको आवश्यक पर्ने जनाएको छ। पेट्रोलियमबाट पेट्रोल, डिजेल, मट्टितेल, लुब्रिकेन्ट्स, औषधि, प्लाष्टिक तथा सडक कालोपत्रे गर्न चाहिने असफाल्टको जस्ता पदार्थको उत्पादन गरिन्छ।

नेपालमा पेट्रोलियम पाइने सम्भावनाका आधारहरुमा अनुकुल भूगर्भ, भौगर्भिक बनावट तथा भौगर्भिक इतिहास रहेको त्रिपाठी बताउछन्। ‘हाम्रो जस्तै भूगर्भ भएका र हिमालयमा पाकिस्तानको पोतवार तथा भारतको आसाममा भइरहेको उत्पादन पनि एउटा आशाको केन्द्र भएको हो’ उनले भने। दैलेखको पादुकालगायतका क्षेत्रहरुमा सतहमा देखिएको कच्चा तेल र दैलेखकै सिरस्थान र नाभिकस्थान क्षेत्रमा इतिहासदेखि निरन्तर बलिरहेको ग्यास नै नेपालमा पेट्रोलियम पदार्थ रहेको प्रमाण भएको परियोजनाको तथ्यांकले देखाएको छ। तथ्यांकले हालसम्म भौगर्भिक, भूभौतिक सर्वेक्षण तथा भूरासायनिक विश्लेषण जस्ता अन्वेषणात्मक कार्यहरु गरेको छ। उक्त अन्वेषणात्मक कार्यबाट नेपालको चुरे तथा तराई क्षेत्र स्म्भावित रुपमा पहिचान, उक्त क्षेत्रमुनि पेट्रोलियम पदार्थ बन्न आवश्यक चट्टानहरु रहेको र अन्वेषण कार्यको लागि सम्भावित क्षेत्रलाई १० ब्लकमा विभाजन गरिएको बताए।

यस्तै भविष्यमा गरिने सम्भावित कार्यमा उपयोगी हुने विभिन्न प्रकारका महत्वपूर्ण डाटा प्याकेजहरुको उपलब्ध पनि भएको त्रिपाठीको भनाई छ। टोलीले सर्वेक्षणका क्रममा दुर सम्वेदन, भौगर्भिक, पेट्रोलियम भौगर्भिक, म्याग्नेटोटेलुरिक र सिस्मिक जस्ता सर्वेक्षण गरी ड्रिलिङ अर्थात खाल्डो बनाइने जानकारी परियोजनाको तथ्यांकमा उल्लेख छ।

नेपालमा तेल तथा ग्यासको सम्भाव्यता अध्ययन मूल्यांकन, सतहमा गरिने अन्वेषणबाट प्राप्त परिणाम अनुसार ड्रिलिङ गर्नको लागि उपयुक्त स्थानको छनोट, ड्रिलिङ गरिएको क्षेत्रमा तेल तथा ग्यास भण्डार भए नभएको एकिन गर्न र नेपालमा तेल तथा ग्यासको अन्वेषणको क्षेत्रमा बे्रकथ्रु गर्ने जस्ता परियोजनाको उदेश्य रहेको परियोजनाका सिनियर डिभिजन जियालोेजिस्ट त्रीपाठीले जानकारी दिए।

यस्तै, डाटाबेसको स्तरोन्नति हुने, ड्रिलिङ गरिएको क्षेत्रमा तेल तथा ग्यास भण्डार रहे नरहेको एकिन हुने, र नेपालमा अन्य क्षेत्रमा भविष्यमा गरिने अन्वेषणको लागि लगानीकर्ता आकर्षित हुनेलगायतका परिणामको अपेक्षा यस अध्ययनले गरेको उनले बताए।

नेपालमा पेट्रोलियम अन्वेषण परियोजना अन्र्तगत नेपालको संविधान २०७२, नेपाल पेट्रोलियम ऐन २०४१, पेट्रोलियम नियमावली २०४१ र पाचौं संशोधन २०७४ लगायतका ऐनहरुमा व्यवस्था गरिएको छ।

प्रकाशित: ६ असार २०७६ १२:३३ शुक्रबार

नेपाल पेट्रोलियम_पदार्थ अनुसन्धान