समाज

आन्दोलनले समता स्कूल प्रभावित

तोडफोडपछि भित्ता टालिएको समता स्कुल। तस्बिर:श्याम /नागरिक

काठमाडौं - मासिक एक सय रुपैयाँ लिई अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको बौद्धस्थित समता स्कुलमा आन्दोलनकारीहरुले गर्दा पठनपाठन प्रभावित भएको छ। समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङ गत मंगलबार झुण्डिएको अवस्थामा भेटिएपछि आफन्तले आत्महत्याको आरोप लगाउँदै पटकपटक आन्दोलन गरेपछि मंगलबारबाट पठनपाठन अवरुद्ध भएको हो।

मृतकका आफन्तले समता अस्पताल र स्कुलमा तोडफोड समेत गरेका छन्। समता स्कुलका अनुसार मृतकका आफन्तहरुले समता अस्पताल मात्रै नभई स्कुलमा समेत बारम्बार हस्तक्षेप गर्न खोजेपछि स्कुलमा पढाइ सुचारु हुन सकेको छैन। अहिले पनि अस्पताल र स्कुलमा प्रहरीहरु सुरक्षाको लागि खटिएका छन्। समता स्कूल र कलेजका संयोजक अरुण लम्सालले मृतकको आफन्तले स्कुलमा दबाब दिएपछि स्कुलको पठनपाठन प्रभावित भएको बताए। ‘समता अस्पतालको विवादलाई लिएर आफन्तले स्कुलमा समेत हस्तक्षेप गरिरहेका छन्,’ उनले भने, ‘मृतकका आफन्त बारम्बार आन्दोलनमा उत्रिएपछि स्कुलमा पढाउन सकेका छैनौं।

स्कुल शान्ति क्षेत्र हो। पठनपाठन गराउने स्कुलमा आएर हस्तक्षेप गरिरहेका छन्। विधार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेका छन्। अस्पतालको विषयमा कानुनले हेर्छ। कानुन विपरीत रहेर स्कुल क्षेत्र नै अवरोध गर्न मिल्दैन।’ उनका अनुसार समता अस्पतालमा विवाद परेकाले अस्पतालमै मृतकका आफन्तले आन्दोलन गर्नु पथ्र्यो। तर, अध्ययन भइरहेको समता स्कुलमा हस्तक्षेप गरेका छन्। नर्सरीदेखि कक्षा ९ सम्मको कक्षा अझै सञ्चालन गरिएको छैन। उक्त स्कूलका होस्टेलमा रहेका विद्यार्थीहरुलाई भने सुरक्षाको लागि भक्तपुरको समता स्कूलमा लगिएको छ। उपत्यकामा बसोबास गर्ने विद्यार्थीहरुलाई भने अभिभावकको जिम्मामा छाडिएको छ।

बिहीबरबाट कक्षा १० देखि माथिको कक्षा भने सञ्चालन गरिएको उनले बताए। ‘मंगलबार मृतकका आफन्तले स्कुलमा तोडफोड गरेपछि प्रहरीले अशु्रग्यास प्रहार गर्दा ६ विधार्थी बेहोस भए। हामीले स्तूप सामुदायिक अस्पतालमा लगेर उचार ग-र्यौं,’ उनले भने, ‘आन्दोलनले गर्दा कयौं विधार्थी घाइते भए। स्कुलमा आन्दोलन गर्न नहुने थियो। ज्ञान आर्जन गर्ने स्कुलमा मृतकका आफन्त आक्रोशित भएर विरोध गरिरहेका छन।’ उनका अनुसार आइतबारबाट सबै कक्षा सञ्चालन गर्ने सोचमा छन।

समता अस्पतालको विषयलाई लिएर मृतकका आफन्तहरुले शान्तिपूर्ण स्कुलमाथि हस्तक्षेप गर्नु गलत काम रहेको समता स्कुलका कोर्डिनेटर अशु केसी बताउँछन। ‘पठनपाठन भइरहेको स्कूलमा आफन्तहरुले आक्रमण गर्ने काम सरासर गलत छ,’ उनले भने, ‘हजारौं विद्यार्थीमाथि शोषण गर्न पाउँदैन। यसमा समता स्कुल परिवार दुःखित भएका छौं।’ मंगलबार भएको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि अभिभावकले स्कूलको भित्ता फोडेर विद्यार्थीलाई उद्धार गरेका थिए।

समता स्कुल कक्षा १० मा अध्ययनरत अनिता बोहराले स्कुलभित्र यसरी बारम्बार हस्तक्षेप नगर्न अनुरोध गरिन्। ‘मृतकका आफन्तहरुले आन्दोलन गर्दा हाम्रो पढाइमा अवरोध भएको छ,’ उनले भनिन, ‘कतिपय विधार्थीहरु विचल्लीमा परे। विद्यालय शिक्षा पाइने मन्दिर हो। अहिले पनि त्रसित छौं। तपाईंहरुको छोराछोरी जस्तै हामी पनि हौं। यसरी स्कुलमा आन्दोलन गरेर हाम्रो अध्ययनलाई रोक्न नखोज्नुस। ज्ञान पाउने हाम्रो अधिकार खोस्न नखोजियोस।’

२०५८ सालमा काठमाडौं जोरपाटीबाट सुरु भएको समता स्कुल मासिक सय रुपैयाँमै देशका विभिन्न जिल्ला तथा श्रीलंका, बंगलादेशलगायत देश बाहिरका मुलुकमा पनि सञ्चालित छ। बाँसबाट बनेका संरचना समता स्कुलले अस्पताल समेत सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ६ असार २०७६ ०२:०८ शुक्रबार

समता_स्कुल पठनपाठन_प्रभावित आत्महत्या