समाज

कर्णालीमा बेपत्ताहरू नभेटिँदा पुत्लामा अन्त्येष्टि

हुम्ला - सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा पर्ने खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए। असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरू तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुसको पुत्ला बनाई हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरेका छन्। काठमाडौं थानकोटका राजु श्रेष्ठ र उनका साथी नाम नखुलेका एकजनाबाहेक नौ जनाको अन्त्येष्टि गरिएको हो।

बेपत्ता भएकाहरू नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौंडानजिकै खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जिप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्स भेटिएको छ। बेपत्ताको खोजीका लागि काठमाडौंको गोताखोर टोली हुम्ला पुगेको छ। गोताखोरले पनि कर्णाली नदीमा केही नभेटेपछि बेपत्ता भएकाहरूका आफन्तले पराल र कुसको पुत्ला बनाई अन्त्येष्टि गरेका थिए।च्४४लदकउस

उपाध्यक्ष सिन्धु हमाल शाहीसहित जिप चालक सिमकोट–८ याङगुका मणि शाही, यात्रुहरू खार्पुनाथ–५ याङचुका बसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनारको खार्पु त्रिवेणीमा, खार्पुनाथ–१ पिउसकी कौरा दमाई र उनका दुई वर्षीय छोराको बेकचेगौडामा र खार्पुनाथ–४ छिप्राका चन्द्र हमाल र नल्नाका नैनसिंह भण्डारीको छिप्राको दुवाडीचौरमा अन्त्येष्टि गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।

यसैबीच, कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नम्बरको जिप र बेपत्ता यात्रुको खोजीका लागि कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा बुधबार घटनास्थल कैल्याबालु पुगेको १० सदस्यीय गोताखोर टोली ‘खाली हात’ फर्किने भएको छ। कर्णाली नदीमा बुधबार र बिहीबार खोजी गर्दा पनि केही तथ्य फेला नपरेको र पानीको भेल बढेकाले बेपत्ता भएकाहरूको लास नपाइने टुङ्गो भएपछि सशस्त्र प्रहरी बलको गोताखोरसहितको खोजी टोली फर्किने शुक्रबार भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाले बताए। निरीक्षक बस्नेतका अनुसार गोताखोरहरू कर्णाली नदीभित्र पसेर खोजी गरे पनि नदी बढेकाले पानीसंँगै बालुवा, ढुंगा र माटो आउने भएका कारण खोजी गर्न कठिन भएको थियो। कर्णाली नदीको पानी चिसो र बहाब बढेकाले काम गर्न कठिन हुँदाहुँदै पनि टोलीले खोजी गर्ने प्रयास गरेको थियो।

अहिले खार्पुनाथ गाउँपालिका शोकमा डुबेको छ। गाउँपालिका उपाध्यक्षसहित ११ जना यात्रु चढेको जिप कर्णाली नदीमा खसी बेपत्ता भएपछि पूरै गाउँपालिका शोकाकुल भएको हो। खार्पुनाथ गाउँपालिकाको बुधबारको आकस्मिक बैठकले १३ दिनसम्म पालिकामा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने, असार १६ गते शोकसभासहित सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय एवं विद्यालयहरूमा १६ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता भीमराज शाहीले बताए। उपाध्यक्ष शाहीको काजक्रियामा लाग्ने सबै खर्च खार्पुनाथ गाउँपालिकाले ब्यहोर्ने र अन्यलाई क्रिया खर्चबापत जनही १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ।

प्रकाशित: ६ असार २०७६ ०१:४६ शुक्रबार

कर्णाली बेपत्ता