समाज

बेवारिसे चिरान काठ बरामद

उदयपुर– उदयपुरको पूर्वी भेगको बेलका नगरपालिकाबाट बुधबार बिहान बेवारिसे अवस्थामा चिरान काठ बरामद भएको छ। बुधबार बिहान बेलका नगरपालिका–९ भचुवाचोकस्थित अवैध काठ लोड गरेर अज्ञात स्थलतर्फ लैजाँदै गरेको अवस्थामा स १ ह २८२७ नं को अटोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अटोमा राखेर अज्ञातस्थलतर्फ लैजाँदै गरेको काठ प्रहरीको गस्ती टोलीले भेटेर नियन्त्रणमा लिएको हो। पक्राउ काठ ३÷३ इन्च साईजका २८ थान बटम रहेको इलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी उदयपुरले जनाएको छ। पक्राउ काठ आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय मैनामैनीको जिम्मा लगाइएको छ।

अटोले यसरी अवैध काठ बोकेको पाइएकाले रातिराति काठ तस्करी हुने गरेको अनुमान गरएिको छ। काठ कहाँबाट कसले कता लान खोजेको भन्ने यकिन नभएकाले अपराधीको खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रकाशित: ४ असार २०७६ १०:५९ बुधबार

उदयपुर बेवारिसे_काठ बरामद