समाज

चार दिनदेखि पेप्सीकोला–धौलागिरी मार्ग बन्द

काठमाडौं – काठमाडौं महानगरपालिका वडा–३२ स्थित पेप्सीकोला टाउन प्लानिङका स्थानीयहरुले चार दिनदेखि धौलागिरी महेन्द्र एकता मार्गको सडक बन्द गरेका छन्। पिच उप्किएर सडक अस्तव्यस्त भएपछि कोलोपत्रे हुनुपर्ने माग राखेर उनीहरुले गत शनिबारबाट सडक बन्द गरेका हुन्।

स्थानीय नवराज आचार्यले सडकको पिच उप्किएपछि सडक अस्तव्यस्त भएको वर्षौं बित्दा पनि मर्मत नभएपछि सडक बन्द गर्न बाध्य भएकोे बताए। ‘करिब एक किलोमिटर सडकको सबैे कालोपत्रे उप्किएर खाल्डाखुल्डी भएको एक वर्ष बितिसक्यो। सडक पिच गर्नका लागि विभिन्न निकायमा पुगिसक्यौं,’ उनले भने, ‘पिच गर्नेतर्फ कुनै पहल नै भएन। दिनहुँ सवारी जाम हुन्छ। घामलाग्दा सडक धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुन्छ।

त्यसैले शनिबारदेखि सडक बन्द गरेका हौं,’ उनले भने। तत्काल सडक निर्माण नगरेसम्म बन्द गर्ने उनले चेतावनी दिए। उनका अनुसार उक्त मार्गमा ठूल्ठूला मालबाहक सवारीसाधन चलाएपछि सबै पिच उप्किएको छ। त्यसैले सबै सडक खाल्डाखुल्डीमा परिणत भएको छ। दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ।

केही दिनअघि मोटरसाइकल दुर्घटना हुँदा एक वृद्ध घाइते भएपछि अस्पतालमा उपचारत छन। त्यही मार्गबाट मनोहरा पुल, सूर्यमुखी चोक र कागेश्वरी, हरहरामहादेव लगायत ठाउँमा पुग्न सकिन्छ। तत्काल सडकमा ग्राबेल र पीच हुनुपर्ने स्थानीयहरुको माग छ।

प्रकाशित: ४ असार २०७६ ०२:१५ बुधबार

पेप्सीकोला–धौलागिरी_मार्ग बन्द