समाज

सुनकोसीमा हाम फालेर बेपत्ता

खोटाङ – जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र राई पुलबाट सुनकोसी नदीमा हाम फालेर बेपत्ता भएका छन्। उदयपुरको बलम्तामा आफन्तका घरमा पुगेर घर फर्कने क्रममा राई बतासे र उदयपुरको लिङ्चुङ्बुङ गाउँपालिका जोड्ने भँडारेघाटस्थित पुलबाट सुनकोसीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

पत्नीसँगै रहेका राईले आइतबार पुलबाट हाम फालेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताए। उनी हाम फाल्नुको कारण खुल्न सकेको छैन। बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित धौलाङमा भएको ना४त ७१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। घाइते हुनेमा सोही नगरपालिका–१२ जालपाका २२ वर्षीय चालक सर्वण श्रेष्ठ, ट्याक्टरमा सवार वडा १४ बुइपाकी अन्दाजी १८ वर्षीया शर्मिला परियार, १७ वर्षीय अशोक परियार र अन्दाजी २० वर्षीया सरिता राई र रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका १६ वर्षीय सहचालक चुलेन्द्र विसंखे घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असार २०७६ ०१:५२ सोमबार

बेपत्ता सुनकोसी