समाज

काठमाडौंमा स्मार्ट पार्किङ सुरु

काठमाडौं- काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आईतबारबाट न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो।

सो सेवाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्तव्यस्त हुन पुगेको ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सो सेवा सुरु गरिएको जानकारी दिए। उनले काठमाडौंका अन्य स्थानमा पनि सो पार्किङ सेवा संचालनमा ल्याउने योजना रहेको पनि बताए।

स्मार्ट पार्किङ स्थलको शुल्क दुई थरी निर्धारण गरिएको छ। दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ र ४ पाङग्रे सवारी साधनका लागि ८० रुपैयाँ तोकिएको हो। ह्वील ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडको विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर शाक्यले यस लगत्तै दरबारमार्गमा पनि स्मार्ट पार्किङ सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए।

 

प्रकाशित: १ असार २०७६ ११:०५ आइतबार

काठमाडौं स्मार्ट_पार्किङ महानगर