समाज

मारमा सुकुम्बासी

थापाथली खोलानजिकै सुकुम्बासी बस्तीमा अधिकांश मजदुर बस्छन्। केही महिलाले खाजाघर चलाएका छन् भने केही ठेलामा चटपटे बेच्छन्, अनि केही भने घरायसी कामकाज गर्छन्। कमाइभन्दा खर्च धेरै हुने गुनासो गर्छिन्, सुशीला धिमाल। मोरङकी उनी अहिले श्रीमानसँग थापाथलीस्थित सुकुम्बासी बस्तीमा बसिरहेकी छन्। बिहान– बेलुका खाजाघरमा व्यस्त हुने उनी घरायसी सर–सामानको भाउ निकै बढेको बताउँछिन्। बिहान उठेदेखि बेलुका नसुतेसम्म आवश्यक सामानको भाउ बढ्दा दैनिक जीवनशैलीमा नै प्रभाव पारेको उनले बताइन्। ‘हामीलाई चाहिने अत्यावश्यक वस्तुमध्ये नुन, तेल, ग्यास, तरकारी, दाल, चामल दैनिक नभई हँुदैन, अब यसरी भाउ बढेपछि कसरी बाँच्नु यो काठमाडौंमा ?’ उनले प्रश्न गरिन्।

सुन बढेर फरक नपर्ने नुन बढ्दा निकै मर्का परेको उनी बताउँछिन्। सरकारले गत जेठ २५ गते आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको हो। बजेट प्रस्तुत गरेसँगै बजार भाउले आकाश छोएको उपभोक्ता बताउँछन्। काभ्रेकी प्रमिला ठकुरीले चटपटे व्यापारी हुन्।  उनले पानीपुरी, चटपटे बेच्न थालेको एक वर्ष भइसक्यो। तीन जनाको परिवार पाल्नलाई सघाउ हुने भएकाले आफ्नै व्यापार गरेको उनी बताउँछिन्। चटपटेमा राखिने आलु, टमाटर लगायतका सामानमा भाउ बढेकाले व्यापारमा असर गरेको उनी अनुभव सुनाउँछिन्। बिहानदेखि बेलुकासम्म ठेलामा व्यापार गरेर कमाएको हजार रूपैयाँले दैनिक आवश्यक सामान समेत नआउने उनको भनाइ छ। ‘चटपटेमा राखिने खुर्सानी पाउँको ६० रूपैयाँ र केराउको ८० रूपैयाँ, अनि कमाएको पैसाले सामान किन्न पनि नसक्ने अवस्था छ,’ उनले भने।

दिनभरी ज्याला मदजुरी गरेर कहिले मासु खाउँभन्दा १२ सय पुगेर घर व्यवहार चलाउन गाह्रो रहेको बताउँछिन्, माया केसी। साना नानीलाई स्कुल पढाउनेदेखि घरखर्च सम्झँदा दिक्क लाग्ने उनी बताउँछिन्। ‘यो सहरमा केटकेटी पढाउन, ख्वाउन नसकिने भइसक्यो,’ उनले भनिन्। स्कुलको फि वर्षैपिच्छे बढ्ने नानीबाबुलाई चाहिने शैक्षिक सामग्री, खाजा, ड्रेस जुगाड गर्न नै गाह्रो भएको उनी बताउँछिन्। महिनाको २५ हजार कमाइले ६ जना परिवार पाल्नै नसक्ने अवस्था आएको उनी गुनासो गर्छिन्। उनी भन्छिन्, ‘अर्काकोमा काम गरेर २–४ हजार कमाएर केही गर्न सकिएको छैन, भन्याजस्तो काम पाउन गाह्रो छ, यसरी त निकै समस्या भएको छ।’ सरकारले केही गरेर खाने बाटो देखाइदिए हातपाखुरा खियाएर खान पाइने उनी बताउँछिन्।

२ सय ५८ घर संख्या रहेको सुकुम्बासी बस्तीमा अहिले १ सय ३६ घर रहेको उत्पीडन सुकुम्बासी समितिका उपाध्यक्ष झबरलाल उराउ बताउँछन्। सुरुवातदेखि नै सुकुम्बासी बस्तीमा परिवारसहित बस्छन्, झबरलाल उराउ। २०६९ वैशाख २६ गते डोजर लगाएको समयमा निकै समस्या भएको उनी तितो अनुभव सुनाउँछन्। सरकार पक्षबाट यहाँ बसेकालाई केही पनि अवसर नरहेको उनी गुनासो पोख्छन्। ‘त्यो समय सम्झदा निकै गाह्रो हुन्छ, दुई जनाले त मानसिक सन्तुलन नै गुमाउनु भयो, अहिले त मृत्यु भइसक्यो, कष्टकर जीवनबाट उम्किएर बसेका छौं,’ उनले भने। मूल्यवृद्धि भएपछि धनीमानीलाई भन्दा मजदुरलाई  नै असर पर्ने उनी बताउँछन्। बजार भाउले धेरै मर्का पारेकाले हाम्रो पीडा कसैले महसुस गर्न नसक्ने उनी बताउँछन्। दैनिक रोजीरोटी र बासस्थान हुन्थ्यो भने यो ‘गन्दगी’मा बस्ने रहर कसैमा नरहेको उनी बताउँछन्। ‘सरकारले अवहेलना गरेका हमी सुकुम्बासीलाई झन् बजार भाउले मारमा पारेको छ, जसोतसो जीवन चलिरहेको छ,’ उनले भने।

गोपाल पौडेल तरकारी व्यापारी हुन्। केही महिनादेखि भने खाली बसेका छन्। चार जनाको परिवारलाई धान्न समेत हम्मे–हम्मे भएको अनुभव उनी सुनाउँछन्। गाउँमा तरकारी उत्पादन कम भएपछि बजारमा आउने तरकारी भारतबाट निर्यात हुने भएकाले निकै महँगो भएकाले व्यापार नगरेको उनले बताए। उनी भन्छन्, ‘भारतबाट निर्यात हुने तरकारीमा फाइदा नहुने भएकाले चटक्कै छोडे, २–३ रूपैयाँ फाइदा हुन्छ के कमाउनु, कसरी परिवार पाल्नु ?’ व्यापारले परिवार पाल्न पनि समस्या भएपछि बेरोजगार बसेको उनले बताए। किसानले उत्पादन गर्ने बीउबिजन नै महँगिएका कारण तरकारीको भाउले आकास छोएकाले व्यापार गर्न नसकिने उनी अनुभव सुनाउँछन्। ‘आफ्नै देशमा मेहेनत मजदुरी गरेर खान्छु भन्दा पनि महँगीले खान दिएन यस्तै छ के गर्नु,’ उनले भने।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App