समाज

रिहा हुने बित्तिकै विप्लव समूहका ९ कार्यकर्ता पुनः पक्राउ

पोखरा – सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्व समूहका कार्यकर्तालाई पुनः प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पोखराले बिहीबार रिहा हुन आदेश दिएको केही समयमै जंगबहादुर भण्डारी आक्रोशसहित ९ कार्याकर्तालाई पक्राउ गरेको हो।

न्यायाधीशद्वय तेजबहादुर कार्की र सुवास पौडेलको संयुक्त इजलासले उनीहरुलाई छाड्न आदेश दिए लगत्तै पक्राउ परेका हुन्। उनीहरु पक्राउ पर्ने डरले बार एसोसियसनको कार्यालयमा शरण लिएर बसेका थिए, तर प्रहरी त्यहाँ पनि पुगेर थप अर्को सार्वजनिक मुद्दामा पक्राउ गरेको हो।

कास्की प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दान बहादुर कार्कीले जेठ २५ गते कास्कीको घान्द्रुक उरीबाट पक्राउ परेका १८ जनामध्ये रिहा हुने आदेश पाएका जंगबहादुर भण्डारी आक्रोश, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मीलन राईलाई अर्को सार्वजनिक मुद्दा अन्तरगत शान्ति सुरक्षा भंग गरेको कसुरमा पक्राउ गरिएको बताए।

कास्की प्रवक्ता गणेश सुवेदीका अनुसार हा उनीहरुलाई इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकले नियन्त्रणमा लिइ राखिएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७६ ०८:५९ शुक्रबार

नेत्र_विक्रम_चन्द विप्लव पक्राउ