समाज

थाई नागरिकद्वारा विद्यालय भवन निर्माण

थाई नागरिकको सहयोगमा निर्माण गरिएको सावित्रा माविको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै थाई राजदूत भकवत टाङ्सकुल। तस्बिर: दमन राई/नागरिक

खोटाङ – थाई नागरिकले खोटाङको एक विद्यालयको पक्की भवन निर्माण गरिदिएका छन्। थाइ नागरिक मास्टर वान्चाई रोउ एरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविका लागि दुईतले भवन निर्माण गरिदिएका हुन्।

एरीले ४० लाख रुपैयाँ प्रदान गरेपछि निर्माण गरिएको विद्यालयको चारकोठे भवन बुधबार थाई राजदूत भकवत टाङ्सकुलले उद्घाटन गरेका छन्। पन्चेबाजा बजाउँदै र सांस्कृतिक कार्यक्रम गर्दै नयाँ भवन उद्घाटन गरिएको हो। फलामे डेस्कबेन्चलगायतका लागि एरीले थप ५ लाख रुपैयाँ प्रदान गरेको वडा सदस्य एवं निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र राईले बताए। ‘भवन बनाउन एरीले ४० लाख दिनुभयो,’ राईले भने, ‘फलामे डेस्कबेन्चलगायत व्यवस्थापनका लागि थप ५ लाख रुपैयाँ दिनुभएको छ।’

भवनको अभाव झेल्दै आएका विद्यालयका लागि पूर्वविद्यार्थी एवं लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको पहलमा फ्राश्री बोधी विदेशमार्फत एरीबाट आर्थिक सहयोग जुटाइएको हो। सो भवनको गत असोज १ गते लुम्बिनी थाई बिहारका प्रमुख फ्राश्री बोधी विदेशले शिलान्यास गरेका थिए। थाई नागरिकको सहयोगमा भवन बनेपछि पठनपाठनमा सहज भएको प्रधानाध्यापक शरण खत्रीले बताए। थाई दाताबाट सहयोग प्राप्त भएपछि जीर्ण बनेको भवन भत्काएर नयाँ भवन बनाउन सुरु गरिएको थियो।

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:०८ बिहीबार

थाई_दाता विद्यालय_भवन