समाज

आप्रवासी चढेको डुंगा दुर्घटना, ३० जना बेपत्ता

कराकास – भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएली आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिएका छन्।उनले बेपत्ता भएका व्यक्ति परिवारको सम्पर्कमा नआएको पनि बताए।सो घटनाका बारेमा सरकारी अधिकारीले भने कुनै टिप्पणी गरेका छैनन् ।

गत शुक्रबार भेनेजुएलाको उत्तरी–पश्चिमी फ्याल्कन राज्यका ती आप्रवासीको एक समूहले डुंगा चढेर गाउँ छोडेका थिए।त्यसपछि सो समूहबाट केही पनि जानकारी प्राप्त नभएको आफन्तहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। तटीय सुरक्षा गार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन् तर भेनेजुएलाको अगुइडे गाउँका ती आप्रवासीको हो होइन भन्ने एकिन हुन भने सकेको छैन।

एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो।हालसम्म ८० जना बेपत्ता छन् । यसअघिका दुई वटा डुंगा क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोतर्फ हिँडेका थिए । परिवारका सदस्यका अनुसार प्रत्येक आप्रवासीले समुद्र पार गर्न चार सय अमेरिकी डलर तिरेका थिए।संयुक्त राष्ट्र संघले भेनेजुएलाका तीन करोड जनसंख्यामध्ये एक तिहाइलाई मानवीय सहायता आवश्यक रहेको बताउँदै आएको छ।

राष्ट्रसंघले विगत तीन चार वर्षको अवधिमा मात्रै झण्डै ३३ लाख मानिस भेनेजुएलाबाट पलायन भएको बताउने गरेको छ।यद्यपि भेनेजुएलाका विदेशमन्त्री जर्ज एरेजाले भने राष्ट्र संघको तथ्यांक गलत रहेको दाबी गरेका छन्। कैयौं वर्षदेखि जारी रहेको भेनेजुएलाको आर्थिक संक्टका कारण देशमा उच्च बेरोजगारी संकट विद्यमान रहेको छ भने खाद्यान्न र औषधीको पनि अभाव व्याप्त रहेको छ।तसर्थ तेलका लागि धनी भेनेजुएलाका लाखौं मानिसलाई तत्काल मानवीय सहायताको खाँचो रहेको भन्दै सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन्।

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:२५ बिहीबार

भेनेजुएला डुंगा दुर्घटना