समाज

अज्ञात समूहद्वारा आगो लगाएर वडा कार्यालयका सामाग्री नष्ट

जाजरकोट - अज्ञात समूहले आगो लगाएर यहाँको एक नगरपालिकाको वडा कार्यालयका  सवै सामाग्रीहरु नष्ट गरिदिएको छ।

जिल्लाको नलगाड नगरपालिका वडा नम्वर १०   रावतगाउँमा रहेको वडा कार्यालयमा गए राति  अज्ञात समूहले आगो लगाएर कार्यालयका कागजात, फर्निचर तथा प्राविधिक सामाग्रीहरु लगाएत  सवै नष्ट गरिदिएको वडाध्यक्ष भद्रवहादुर ध्यारले जानकारी दिए। रातको समयमा  आठ नौ जनाको समूहमा आएका व्यक्तिहरुको समूहले कार्यालयको ढोका फोरेर  सवै सामाग्रीहरु बाहिर आँगनमा ल्याएर आगो लगाइदिएको  वडाध्यक्ष ध्यारले  बताए। 

कार्यालयमा रहेका  सहयोगीलाई  नियन्त्रणमा लिएर उनीहरुले  कार्यालय भित्र रहेका कागजातहरु, क्यामेरा, कम्प्युटर, सोफा सेट, टेवल,  मोवाइल, दराज  कुर्सीहरु लगाएतका समाग्रहरु जलाइदिएको  उनले बताए। आगो लगाउनेहरु मध्य एक जनाले सटगन जस्तो हतियार वोकेको पनि वडाध्यक्ष ध्यारले बताए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी स्यामवहादुर खत्रीले वडा कार्यालयमा आगो लगाउनेको पहिचान हुन नसकेको बताए।

प्रकाशित: २९ जेष्ठ २०७६ ०७:१० बुधबार

वडा_नम्वर अज्ञात_समूह आगलागी