समाज

तयारी कक्षा पढ्न आएका विद्यार्थी दोधारमा

काठमाडौं - दाङ, घोराहीका कमलकृष्ण रिजालको अनुहार मलिन देखिन्थ्यो। कारण थियो, लोकसेवा आयोगको विज्ञापन रद्द हुने भन्ने हल्ला। लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी माग गरेको विज्ञापन प्रकाशन गरेपछि त्यसैको तयारी गर्न भन्दै रिजाल प्राइभेट जागिर छोडेर काठमाडौं आएका हुन्। तर उक्त विज्ञापन विवादमा परेपछि रिजाल अन्योलमा छन्।

‘अधिकृतको तयारी कक्षामा भर्ना भएकाु छु’, रिजालले भने, ‘बिहान ५ बजे उठेर तयारीकक्षामा जान्थें अब भने दोधारमा परेको छु, पैसा तिरिसकें, ३०÷३५ हजार खर्च भइसक्यो। विज्ञापन पनि रद्द हुने हल्ला छ, के गरूँ ?’ उनले तयारी कक्षाका लागि १५ हजार र होस्टलका लागि १० हजार खर्च गरिसकेका छन्।

लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन खुलाएपछि तयारी कक्षामा भर्ना भएका बीसौं हजार विद्यार्थी यति बेला अन्योलमा परेका छन्।

रिजालजस्तै अन्य सयौं विद्यार्थी पनि यति बेला दोधारमा छन्। सुर्खेतका ज्ञानबहादुर शाहीको अवस्था पनि त्यस्तै छ। उनी काठमाडौंमा राम्रो पढाइ हुने र नयाँनयाँ कुरा सिक्न पाइने भनेर राजधानी आएको बताउँछन्। विवाद भइरहेका बेला लोकसेवाले खोलेको विज्ञापन रद्द भयो भने खर्चमात्र हुने चिन्ता भएको बताए। ‘कीर्तिपुरमा दाइको कोठामा बसेर पढिरहेका छु। तयारी कक्षाका लागि तिरेको पैसा खेर जान्छ कि भन्ने डर छ’, शाहीले भने, ‘सत्तरी हजारले फारम भरेको सुनेका छु। सबै बाहिरबाट त आएका होलान्। उनीहरूको समस्या र अवस्था कसले बुझिदिने ?’

पुतलीसडकदेखि अनामनगर र बानेश्वरआसपासमा हिजोआज विद्यार्थीको घुइँचो छ। ७७ जिल्लाका विद्यार्थी सरकारी जागिर खाने आसमा काठमाडौं छिरेर होस्टल तथा भाडामा बसेर तयारी कक्षा लिइरहेका छन्। पुतलीसडकमा तयारी कक्षा सञ्चालन गरिरहेको सिइडिपीमा ५५ वटा ग्रुपमा तयारी कक्षा सञ्चालन भइरहेको त्यहाँका कर्मचारी आशिष कँडेलले बताए। ‘करिब पाँच हजार विद्यार्थीले कक्षा लिइरहेका छन्,’ उनले भने, ‘विज्ञापन रद्द भइहाले फेरि खुल्छ। पढेको काम लाग्छ। तिरेको पैसाचाहिं फिर्ता हुँदैन।’ सिइडिपीले अधिकृतका लागि २८ हजार ५ सय र नासुका लागि १४ हजार शुल्क लिइरहेको उनले बताए।

यति बेला बागबजार, बानेश्वर, कीर्तिपुर, पुतलीसडकमा रहेका दर्जनौं इन्स्टिच्युटमा लोकसेवा आयोगका विभिन्न पदको तयारी कक्षा सञ्चालन भइरहेको छ। यी सबैमा गरी २० हजार हारहारीमा विद्यार्थी तयारी कक्षामा सहभागी भएको अनुमान छ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०१:४६ मंगलबार

लोकसेवा_आयोग विज्ञापन तयारी_कक्षा