समाज

एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक सय मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ। नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो। कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिए।

नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पु-याएको छ। छोटेपादेखि नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित नीलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पु-याउन काम शुरु गरिएको छ।

डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११।५ किलोमिटर सडक निर्माण गरिएको हो। रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ। नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानी नजीकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ। सुरुङ, विद्युत्गृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरिएको इञ्जिनीयर केशव वाग्लेले बताए।

‘नदीको उचाइ धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागिएको हो’, उनले भने ‘स्रोत जुटाउनेदेखि अन्य सबै प्रक्रिया पूरा भइसकेको छ।’ पहुँचमार्ग बनेपछि निर्माण सामग्री ढुवानी गर्न र आवत–जावत गर्न सहज भएको छ। रु १३ अर्ब लाग्ने अनुमान गरिएको सो आयोजनाका लागि लगानी जुटिसकेको छ। चार दशमलव चार किलोमिटर सुरुङ हुने नीलगिरि क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ भने नीलगिरिको सुरुङ दुई हजार ४०० मिटर हुने आयोजनाले जनाएको छ। आगामी चार वर्षभित्र आयोजना पूरा गरिने लक्ष्य छ।

विकट भएर पनि पर्याप्त उपकरण र जनशक्ति परिचालन गरिएको प्रतिनिधि गौतमले बताए। ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाका लागि  ठेकेदार कम्पनीसमेत छनोट भइसकेको छ। यहाँबाट उत्पादित विद्युत् दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशनमा पु-याई केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ। नारच्याङमा हाल दश वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्।

पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा छन्। यसैगरी १६५ मेगावाटको कालीगण्डकी गर्ज, चार मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दीलगायत आयोजना निर्माणको प्रक्रियामा रहेका स्थानीयवासी सुवास विश्वकर्माले बताए। रासस

प्रकाशित: २७ जेष्ठ २०७६ ०७:४७ सोमबार

म्याग्दी नीलगिरि_हाइड्रोपावर_कम्पनी