समाज

रसुवाका सिडियो भन्छन् : नाकामा सिन्डिकेट छैन

रसुवा- रसुवागढी नाकामा कुनै किसिमको सिन्डिकेट नलगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

रसुवागढी नाकामा डायल तथा सिन्डिकेट प्रणाली लागू भएको भन्दै व्यावसायीले शनिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरेपछि प्रशासनले आफ्नो ध्यानाकर्षण भएको बताएको हो। नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउनका लागि ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

‘जिल्लामा कुनै किसिमको सिन्डिकेट लगाएका छैनौं, आइतबार धुन्चेमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, पहिले आएका कन्टेर पहिले जाँदा कसरी सिन्डिकेट हुन्छ, उनले प्रश्न गरे। पालो मिच्ने विषयमा विवाद हुने गरेकाले नाकालाई व्यवस्थित बनाउनका लागि प्रणाली सुरु गरिएको उनले बताए।

रसुवागढी नाकाबाट सीमित सङ्ख्यामा ट्रक कन्टेनरले चीन प्रवेश पाउने र बढी सङ्ख्यामा रसुवागढीसम्म आउने गर्दा विवाद सिर्जना हुँदै आएको थियो। यो नाकामा अहिले करिब सय ओटा कन्टेनर आवतजावत हुने गरेको छ।

नाकामा ७ सय कन्टेनर सञ्चालन हुन्छ। मितेरी पुल निर्माण गर्ने समयमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदा करिब ४० वटा सवारी मात्रै चीन जाने गरेका थिए। नेपालको सीमा क्षेत्रमा दैनिक जाने करिब ४ सय कन्टेनर पार्किङ गर्नुपर्ने अवस्था आएपछि प्रणाली सुरु गरिएको थियो।

नागरिक मैत्री प्रशासन, जनमुखी सेवा वितरण, सुशासन, तस्करी र सिन्डिकेट नियन्त्रणमा रसुवा प्रशासन कटिबद्ध भएर लाग्ने र कसैसँग कुनै प्रकारको सम्झौता नगर्ने उनले बताए।

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामान आयात हुने गरेको छ।

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिम लगायतका वस्तु निकासी भइरहेको छ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाँप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

प्रकाशित: २६ जेष्ठ २०७६ ०९:०४ आइतबार

रसुवा नाका भन्सार सिन्डिकेट