समाज

बुकी पाटनको यार्सामा सिन्डिकेट

रुकुम - रुकुम (पूर्व)को विभिन्न बुकीपाटनमा पाइने बहुमूल्य यार्सा संकलनको लागि यहाँ सरकारी निकायको कुनै पनि निर्याण मान्य हुँदैन। बुकीमा पाइने यार्सा संकलनका लागि सरकारी निकायबाट अनुमति आवश्यक पर्दैन। कहिले यार्सा टिप्ने भन्ने मितिदेखि यार्सा संकलन तथा व्यापारको लागि कति शुल्क लगाउने आदि सबै यहाँका स्थानीयले गर्ने निर्णय नै अन्तिम हुने गर्छ। यार्सा संकलनका लागि विभिन्न ठाउँबाट बुकी पुगेका सर्वसाधारणले यार्सा व्यवस्थापन समितिले गरेको निर्णयअनुसार नै शुल्क बुझाउनुपर्ने बाध्यता छ। बुकीमा पाइने यार्सामा स्थानीय सिन्डिकेट कायमै रहेको छ। स्थानीय, प्रदेश तथा केन्द्र सरकारको पहुँचभन्दा बाहिर रहेको बुकीको यार्सा यहाँका स्थानीयको पहुँचमा रहेको छ।

चकासी रोक्न भन्दै यो वर्ष स्थानीयबाहेक बाहिरकालाई यार्सा संकलन अनुमति छैन।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १ र २ नम्बर वडाका विभिन्न बुकीमा पाइने यार्सा औपचारिक रूपमा गत शुक्रबारदेखि संकलन कार्य सुरु भएको छ। तर स्थानीय भने एक महिना पहिले नै बुकी (पाटन) पुगेका थिए। पाटनमा रहेको यार्साको सुरक्षा दिन भन्दै यहाँका प्रत्येक घरबाट दुई÷दुई जनाको दरले युवाहरू यार्सा पाइने पाटनमा बस्दै आएका छन्। आफूहरूले पहिले यार्सा संकलन गरेपछि मात्र खुला भएको निर्णय गरेको जिल्लाबाहिरबाट जाने सर्वसाधारणको आरोप रहेको छ।
‘सुरक्षाको नाममा एक महिना पहिले त्यहाँका मान्छे बुकीमा पुगेर यार्सा संकलन गर्न थाल्छन,’ यार्सा टिप्न बुकी पुगेका जाजरकोटका नरेश घर्तीले भने, ‘पाटनमा उम्रिएको यार्सा आफूहरूले एक महिनासम्म संकलन गरिसकेपछि मात्र खुला भएको भन्दै निर्णय गर्दै आएका छन्।’ चार वर्षदेखि यार्सा संकलन गर्न बुकी पुग्ने गरेको उनले बुकीमा यार्सा संकलनका लागि कुनै पनि सरकारी निकायबाट अनुमति पनि लिनुनपर्ने बताए। यो वर्षमात्रै होइन, यहाँ हरेक वर्ष यार्सा संकलनका लागि व्यवस्थापन समितिको निर्णय नै कार्यान्वयन हुने गर्छ।

प्राकृतिक स्रोत–साधनमाथि स्थानीयको अग्राधिकार हुने भए पनि यार्सा संकलनका लागि व्यवस्थापन समितिको नाममा गरिएका केही निर्णय वन ऐन, कानुनविपरीत

हरेक वर्ष यार्सा संकलनका लागि सर्वसाधारण तथा व्यापारीबाट लाखौं रुपैयाँ जम्मा हुने गरे पनि त्यो कहाँ खर्च हुन्छ भन्ने कुराको कुनै जानकारी नहुने गरेको स्थानीय सुरेन्द्र बुढाले बताए। ‘व्यवस्थापन समितिका केही सीमित मान्छे हुन्छन्, उनीहरूले नै निर्णय गर्छन् र जम्मा भएको रकम पनि कहाँ खर्च गर्छन् कुनै जानकारी हुन्न,’ उनले भने। एक सिजनमा कति रकम जम्मा हुन्छ भन्नेसमेत कुनै जानकारी नदिने गरेको उनको भनाइ छ। तर व्यवस्थापन समितिले भने व्यापारी तथा सर्वसाधारणबाट जम्मा भएको रकम गाउँको विकासमा लगाउँदै आएको बताउने गरेको छ। विशेषगरी यहाँ विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकको तलब–भत्ता र विद्यालयको भौतिक संरचना निर्माणमा उक्त रकम खर्च हुँदै आएको समितिका अध्यक्ष अमरधन पुनमगरले बताए।

यस वर्ष यार्सा संकलन गर्न यहाँ सर्वसाधारणका लागि एक हजार पाँच सय र व्यापारीका लागि १८ हजार शुल्क निर्धाण गरिएको उनले बताए। स्थानीयलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष पुनको भनाइ छ। जथाभावी चोरी निकासी बढ्दै गएकाले यार्सा संरक्षण, संकलन र व्यापार गर्न स्थानीयलाई मात्र अनुमति दिने निर्णय भएको उनको भनाइ छ। बाहिरका व्यापारीले स्थानीयसँग मिलेर व्यापार गर्न पाउने गरी निर्णय भएकाले बाहिरकालाई वञ्चित नगरिएको उनको जिकिर छ। ‘स्थानीयले समितिबाट रसिद लिएपछि उनीहरूसँगै मिलेर जुन ठाउँकाले पनि व्यापार गर्न मिल्ने व्यवस्था गरेका छौं,’ अध्यक्ष पुनले भने, ‘यार्सा चोरी निकासी रोक्न यो वर्ष स्थानीयबाहेक बाहिरकालाई संकलन अनुमति छैन।’

प्राकृतिक स्रोत–साधनमाथि स्थानीयको अग्राधिकार हुने भए पनि यार्सा संकलनको लागि व्यवस्थापन समितिको नाममा गरिएका केही निर्णय वन ऐन, कानुनविपरीत रहेको डिभिजन वन कार्यालय रुकुमकोटका सहायक वन अधिकृत वेदप्रसाद भण्डारीले बताए। अन्तर्राष्ट्रिय रूपमा नै जुनसुकै ठाउँमा पनि व्यापार गर्ने पाउने अधिकारलाई कुण्ठित गरेर यार्सा व्यवसायमा रोक लगाउने कार्य गलत भएको उनको भनाइ छ। पहिलेदेखि नै सरकारी संयन्त्रले खासै वास्ता नगरेका कारण अहिले पनि स्थानीयको पहुँच कायमै रहेकाले यसलाई व्यवस्थित गर्नुपर्ने उनले बताए।

कठिन भूगोल र प्राप्त जनशक्तिको अभावका कारण आफूहरूले बुकीमा भएका सबै निर्णय तथा घटनाका बारेमा भने जानकारी नभएको उनको भनाइ छ। यार्सा जंगलमा पाइने जडिबुटी नै भएकाले डिभिजन वन कार्यालयबाट संकलनको लागि राजश्व बुझाएर रसिद लिनुपर्ने उनी बताउँछन्। अहिलेसम्म कार्यालयबाट दुई किलो पाँच सय ग्राम यार्सा संकलनका लागि मात्र अनुमति लिइएको सहायक वन अधिकृत भण्डारीले बताए। वन कार्यालयले यार्सा संकलनका लागि प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व निर्धारण गरेको छ।

यार्सा संकलन गर्नका लागि विशेष गरेर पुथा उत्तरगंगा गाउँपालिका १, २, ३ र ४ का स्थानीय गाउँ नै खाली गरेर पाटनमा पुगेका छन्। यहाँका पुपाल, अरबिजा, जंगला, पूर्वाङ, भित्रिवन, उङला, ङिम्कु, पानीढल, सुनदह, सांग्रेई, चौरीखर्कलगायत बुकीमा यार्सा पाइने गर्छ। यार्सा संकलनका लागि यहाँका पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँका साथै छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोट, सल्यान, रोल्पा, बागलुङलगायत जिल्लाबाट पनि सर्वसाधारणहरू यार्सा टिप्न बुकी (पाटन) जाने गरेका छन्।

प्रकाशित: २६ जेष्ठ २०७६ ०२:०६ आइतबार

बुकीपाटन यार्सा सिन्डिकेट