समाज

रक्सि पिएर उपाध्यक्षलाई गाली गर्ने वडाध्यक्ष पक्राउ

बाजुरा– खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष कुन्ती साउँद बुढालाई गाली गर्ने वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। विना कारण गाली बेइज्जती गरेको र आत्म सम्मानमा चोट पुर्याएको भन्दै उपाध्यक्षले उजुरी दिएपछि खप्तड छेडेदह गाउँपालिका ५ नम्बर वडाका अध्यक्ष हर्कबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो।

उपाध्यक्ष बुढाले जीवन सुरक्षाको मागसहित वडा अध्यक्ष हर्कबहादुर रावतसहितका व्यक्तिहरु विरुद्ध गाली बेइज्जती मुद्दा दिएको बताएकी छन्। रातीको समयमा मदिरा सेवन गरि खुलेआम गाली दिएको र गाउँका महिला पुरुषलाई ल्याएर सार्वजनिक बेइज्जती गरेको उपाध्यक्ष साउँदले बताएकी छन्। न्यायीक समिति संयोजकसमेत रहेकी बुढाले आफू मातहका जनप्रतिनिधीबाटै अपमानित हुनु परेको र गाउँपालिकाको केन्द्र रहेको क्षेत्रमा सुरक्षित समेत नहुने भएपछि उजुरी दिएकी हुन्।

उजुरीका आधारमा प्रहरीले वडा अध्यक्ष रावतलाई पक्राउ गरिसकेको बताएको छ। मदिरा खाएर गाली गरेको भन्ने तथ्यको नजिक प्रहरी पुगेसकेको र उजुरीको आधारमा वडा अध्यक्ष रावतलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले बताए।

सुरुमा ज्यान मार्ने उद्योगको उजुरी लिएर आउनु भएको थियो, पछि त्यो अवस्था नदेखिएकोले गाली बेइज्जतीमा उजुरी आएकोले आपसी छलफलबाट समाधान नदेखिए भोलि १० बजे मुद्दा दर्ता गर्ने भाटले बताए। मदिरा खाएर होहल्ला र गाली बेइज्जती गरेको देखिएकोले मुद्दा अघि बढ्ने नायव उपरिक्षक भाटको भनाई छ। प्रहरीले पक्राउ गरेका वडा अध्यक्ष रावत नेपाली कांग्रेसबाट चुनावी जितेका हुन्। उसोत उपाध्यक्ष कुन्ती साउँद बुढाले पनि नेपाली कांग्रेसको उम्मेदवार बनेर नै चुनाव जितेकी हुन्।

गाउँपालिकाको केन्द्र वडा नम्बर ५ डोगडीमा राखिएको छ। कार्यालय समयमा विमती भएका विषयलाई छलफलबाट समाधान गर्नुको साटो, साढे १० बजेपछि आएर तथानाम गाली दिएको र स्थानीयलाई कुटपीट गर्नसमेत आदेश दिएकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको बताएकी छन। मदिरा विक्री वितरण तथा सेवन कार्य पूर्ण बन्द गरिपनि वडा अध्यक्ष रावतसहितका व्यक्तिहरुले मदिरा खाएरै गाली दिएको बताएकी छन्।

आफैले गरेको निर्णयको उल्लङ्घन गरेको र विना कारण व्यक्तिगत चरित्रमा नै चोट पुग्ने गरि गाली बेइज्जती गरेकोले कारवाही प्रक्रिया अगाडि बढाउने गरि उजुरी दिएको उपाध्यक्ष साउँदको भनाई छ। योजना छनोटका विषयमा कुरा नमिलेपछि वडा अध्यक्षले राती स्थानीयलाई प्रयोग गरेर गाली बेइज्जती गर्न लगाएको बुझिएको छ। तर वडा अध्यक्ष पक्षधरहरुले भने सामान्य भनाभन मात्र भएकोले ठूलो बनाउन नहुने बताएका छन्।

 

प्रकाशित: २३ जेष्ठ २०७६ १५:०२ बिहीबार

उपाध्यक्ष वडा_अध्यक्ष रक्सि पक्राउ