समाज

मध्यपुरथिमिमा जेठ २५ देखि स्थानीय पाठ्यक्रम लागू

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।

नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। आगामी २५ गते पर्ने सांस्कृतिक पर्व सिठी नखःका अवसर पारेर त्यस दिन नगर क्षेत्रका सबै विद्यालयले आआफ्नो विद्यालय नजिकैका पानीका मुहान, इनार, धाराको सरसफाइ गर्दै व्यावहारिक रुपमै स्थानीय पाठ्यक्रम लागू गर्ने भएको उनले जानकारी दिए।

नेपालका स्थानीय तहमध्ये आफ्नै स्थानीय पाठ्यक्रम लागू गर्ने मध्यपुरथिमि नगरपालिका दोस्रो नगरपालिका भएको उनको भनाइ छ। पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले शिक्षाविद् एवं प्राध्यापक रामकृष्ण दुवालको संयोजकत्वमा बालप्रमी स्कूलका प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ र अमिनिटी स्कूलका प्रिन्सिपल सूर्यबहादुर भण्डारी सदस्य रहनेगरी स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरेको थियो।

मध्यपुरथिमिका शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेले पहिलोपटक कक्षा ६ मा स्थानीय पाठ्यक्रम लागू हुने जानकारी दिए। उनले आगामी वर्ष कक्षा १ र कक्षा ७ मा समेत स्थानीय पाठ्यक्रम लागू गर्ने बताए। स्थानीय पाठ्यक्रम निर्माणका लागि मध्यपुरथिमिमा चार चरणको छलफल र अन्तक्र्रिया पछि स्थानीय पाठ्यक्रम लागू हुने भएको भक्तपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारीले बताए। मध्यपुरथिमि नगरपालिकाभित्रका महत्वपूर्ण १० वटा क्षेत्रलाई समेटेर तयार पारेको पाठ्यक्रमले मध्यपुरथिमिको पहिचानलाई अझै बढाउने उनको भनाइ छ। रासस

प्रकाशित: २३ जेष्ठ २०७६ १०:२२ बिहीबार

मध्यपुरथिमि_नगरपालिका स्थानीय_पाठ्यक्रम