समाज

‘प्रेम र सद्भावमा लागिरहनू’

वीरगन्ज - वीरगन्ज महानगरपालिका–२, छप्कैयास्थित इदगाह (प्रार्थनास्थल) मा नयाँ र सफा पहिरनमा हजारौंको संख्यामा भेला भएका बालकदेखि वृद्धसम्मका इस्लाम धर्मावलम्बीलाई बुधबार बिहान करिब ९ बजेतिर इमाम (धर्मगुरु) ले इदको विशेष प्रार्थना गराइरहेका थिए । प्रार्थनाअघिको प्रवचनमा उनले भने, ‘अल्लाह (ईश्वर) मा भरोसा राख्नू, धर्ममा आस्था राख्नू, दीन–दुःखी तथा गरिबलाई सहयोग गर्नू, छिमेकीलाई समस्या पर्दा आफ्नै ठान्नू, आमाबुवालाई दुःख हुने काम नगर्नू, पवित्रता, शान्ति, प्रेम र भाइचारालाई प्रश्रय दिनू ।’

प्रवचनलगत्तै उपस्थित सबैले सामूहिक नमाज (प्रार्थना) मा भाग लिए । प्रार्थनापछि सुरु भयो ‘इद मुबारक ।’ सबैले बधाई साटासाट गरे । इद प्रेम, भाइचारा र सद्भावको पर्व मानिन्छ । नेपालभरका इस्लाम धर्मावलम्बीले प्रमुख पर्व ‘इद–उल–फितर’ अर्थात् इद सामूहिक प्रार्थना र आपसमा प्रेम, सद्भाव र बधाई साटासाट गरेर मनाए । पर्साका इस्लाम धर्मावलम्बी सबेरै इद मनाउन इदगाहहरुमा भेला भएका थिए ।

इद मनाउनुअघि इस्लाम धर्मावलम्बी एक महिना रोजा (ब्रत) बस्छन् । यसलाई रमजान पनि भनिन्छ । यस अवधिमा सूर्य उदाएदेखि नअस्ताउन्जेलसम्म अन्न वा पानी खाइँदैन । सूर्यास्तपछि निश्चित समयमा उपवास तोडिन्छ र विभिन्न परिकारहरु खाइन्छ, खुवाइन्छ । एक महिनाको रोजापछि द्वितीया तिथिको चन्द्रमा हेरेर इद मनाइन्छ ।

‘यो वर्ष वैशाख २४ मा रमजान सुरु भएको थियो । आज (बुधबार) जेठ २२ गते सकियो,’ पर्सा धोबिनीका तबरेज अहमदले भने, ‘इद भनेको वर्षभरिको रिसराग छोडेर एकअर्कालाई स्वीकार गर्ने सद्भावको पर्व हो, इस्लाम धर्ममा यसको विशिष्ट महŒव छ । यसमा सद्भाव र जनकल्याणको कामना निहित हुन्छ ।’ इदको दिन इस्लामहरूले बिहानै सबेरै उठेर नुहाउँछन् । आफ्नो सामथ्र्यअनुसार राम्रा र नयाँ कपडा लगाउँछन् । पुरुष सामूहिक नमाजका लागि इदगाह पुग्छन् । महिलाले भने घरमै प्रार्थना गर्छन् । आम्दानीको निश्चित प्रतिशत (२.५) गरिब, असहाय वा मदरसालाई दिइन्छ । यसलाई फित्रा (दान) भनिन्छ । इस्लाम धर्मावलम्बीले अन्तिम सन्देशवाहक मान्ने पैगम्बर हजरत मुहम्मदको आदेशले यो पर्व मनाउन थालेको भनाइ छ । इदको दिन दूधमा पकाइएको सेबईलाई विशेष परिकारको रुपमा खाने र खुवाउने चलन छ । गैरइस्लामलाई पनि सेबई खान घरमा निम्त्याइन्छ । हिन्दुले पनि इस्लामलाई इदको शुभकामना दिन्छन् ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०१:५३ बिहीबार

वीरगन्ज_महानगरपालि प्रेम सद्भाव