समाज

लप्ची क्षेत्रमा पहिलो पटक हिउँ चितुवा देखियोे

क्यामेरा ट्रयापिङ गर्दा देखिएको हिउँ चितुवा तस्बिरः अनुसन्धान टोली

दोलखा– दोलखास्थित गौरीशंकर संरक्षणभित्र लामावगरको लप्ची आसपासका जंगलमा हिउँ चितुवा रहेको फेला परेको छ। जिल्लाको विगु गाउँपालिका १ लामावगरको हिमाली गाउँ लप्ची नजिकको जंगलमा क्यामरा ट्रयापिङबाट त्यस क्षेत्रमा हिउँ चितुवा भेटिएको गौरीशंकर संरक्षण क्षेत्रका अधिकारीहरुले बताएका छन्।

योसंगै संरक्षण क्षेत्रभित्र हिउँ चितुवा रहेको घोषणा संरक्षण क्षेत्र आयोजनाले गरेको छ। बुधबार वातावरण दिवसका अवसरमा दोलखाको सिंगटीमा क्यामेरा ट्रयापिङबाट लिइएको हिउँ चितुवाको तस्बिर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेर संरक्षण क्षेत्रले आफ्नो क्षेत्रभित्र हिउँ चितुवा रहेको घोषणा गरेको हो।

लप्ची गाउँबाट ५ किलोमिटर दुरीमा रहेको चट्टानले घेरिएको क्षेत्रमा हिउँ चितुवाको टाउको र घाँटी देखिने तस्विर रेकर्ड भएको छ भने ७ किलोमिटर खोला छेउको क्षेत्रमा टाउको ढाडदेखि ढाडसम्म खिच्न भ्याएको तस्बिरमा देखिएको छ।

संरक्षण क्षेत्रका आयोजना प्रमुख सत्यनारायण शाहकाअनुसार हिमाली गाउँ लप्ची आसपासका ११ स्थानमा २०७५ साल असोज देखि २०७६ बैशाख महिनासम्म ईन्फ्रारेड क्यामेरा राखेर अनुसन्धान गरिएको थियो। शाहका अनुसार उक्त अवधीमा समुन्द्री सतहबाट ४ हजार ८७ मिटरको उचाईमा हिउँ चितुवाका तिन ओटा तस्विर रेकर्ड भएको छ।

क्यामेरा राखिएको स्थान खोला छेउमा सुनपाती र धुपीको मसिना बोटहरु भएको क्षेत्रमा थियो। अनुसन्धानमा खटिएका अधिकारीहरुलाई उदृत गर्र्दै शाहले दिएको जानकारी अनुसार उच्च हिमाली घाँसले ढाकेको स्थान र खोला छेउमा केही चिजको चहलपहल देखिने बितिकै क्यामेराले रेकर्ड गर्ने व्यवस्था मिलाइएको थियो।

हिउँ चितुवा मध्य एशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई अन्तर्राष्टिय संरक्षण संघ (आई.यु.सि.एन.) ले समेत दुर्लभ प्रजातिकोरुपमा सूचीकृत गरेको छ। हिउँ चितुवा विश्वमा १० हजार भन्दा कम रहेको अनुमान गरिएको छ। नेपालमा यसको संख्या ३०० देखि ५०० मात्र अनुमान गरिएको छ। ११ स्थानमा राखिएको क्यामेराबाट संरक्षण क्षेत्रभित्र अनुसन्धानका क्रममा विगतमा रेकर्ड नभएको सुनौलो विरालो (गोल्डेन क्याट) समेत रेकर्ड भएको शाहले जानकारी दिए। चरिबाघ, कस्तुरीमृग र आसामी (पहरे) बाँदरजस्ता संरक्षित जनावर तथा हिमाली कालो भालु, तिब्बती फ्याउरो, झारल, घोरल, नाउर, चितुवा, रातो फ्याउरो समेत १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरु भेटिएको थियो।

राष्ट्रिय प्रकृति संरक्षण कोषबाट स्वीकृत ‘जैविक विविधता अध्ययन अनुसन्धान’ शिर्षक अन्तर्गतको यो अनुसन्धानमा संरक्षण अधिकृत बिष्णु प्रसाद पाण्डे, पोखरा विश्वविद्यालय, नेपाल इन्जिनियरिङ कलेज, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा. नारायण प्रसाद कोजुको संयुक्त नेतृत्वमा आयोजनाका प्राकृतिक श्रोत संरक्षण सहायक शंकरमान थामी र स्तानकोत्तर तहमा अध्ययनरत विद्यार्थी बिजय बस्यालको समुहले लप्ची उपत्यकामा क्यामेरा ट्रापिङ तथा स्थलगत अनुसन्धान गरेको हो।'

प्रकाशित: २२ जेष्ठ २०७६ १३:२५ बुधबार

गौरीशंकर_संरक्षण हिउँ_चितुवा