समाज

कर्णालीमा लगातार विद्युत अवरुद्धः स्थानीय आक्रोशित, विकल्प खोज्दै कुलमान

विद्युत अवरुद्ध हुँदा प्रभावित बनेको खलंगा बजार ।

जाजरकोट– नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक छेउका रुखहरुका कारण कर्णालीका केही जिल्लाहरुमा विद्युत अवरोध हुने गरेको बताएका छन्। देशमा लोडसेडिङ हटाएर चर्चा कमाएका घिसिङले सडक छेउमा भएका रुखहरुमा बिजुलीका तारहरु ठोकिएर विद्युत प्रवाह रोकिने गरेको बताए। 

कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट रुकुम सल्यान लगायतका जिल्लामा अहिले १०/१५ घन्टाभन्दा बढी समय विद्युत अवरुद्ध हुने र आएको बिजुली पनि मिनेट मिनेटमा अवरुद्ध भएर जनताहरु मर्कामा परेको विषयमा सोधिएको प्रश्नमा घिसिङले कर्णालीको विद्युत समस्या हल गर्नका लागि १३२ केभीको प्रसारण लाइन विस्तार गर्ने तयारी सुरु भएको बताए। साथै उनले सडक छेउका रुखहरु काट्नेबारे वन विभाग र राष्ट्रिय निकुन्जसँग कुरा भइरहेको बताए। विद्युत लाइन व्यवस्थित र सुरक्षित गर्न आफूहरुले प्रयास गरे पनि विद्युत लाइन विस्तार भएको सडक छेउका रुखहरु काट्न नपाएका कारण केही समयका लागि विद्युत सेवा अनियमित हुने गरेको उनको भनाई छ। 

नियमित रुपमा विद्युत सेवा अवरुद्ध हुँदा कर्णाली प्रदेशका जाजरकोट, सुर्खेत, दैलेख, रुकुम र सल्यान लगायत जिल्लाका सर्वसाधारणले सास्ती भोग्नु परेको छ। विद्युत सेवा छिन छिनमा बन्द हुने, कहिले दुई÷तीन दिनसम्म  अवरुद्ध हुने तथा आए पनि दिनमा १०/१५ घन्टा जाने भएपछि यहाँका सर्वसाधारण सरकार र विद्युत प्राधिकरणप्रति आक्रोशित बनेका छन्। कहिले सरकारका मन्त्री, कहिले विद्युत प्राधिकरणका कर्मचारी र कहिले  जनप्रतिनिधिप्रति तीव्र आक्रोश पोख्ने सर्वसाधारणहरु देशमा सरकार भएको अनुभूति गर्नै नपाएको गुनासो गर्छन्। विद्युत सेवा लामो समय अवरुद्ध हुँदा स्थानीय सर्वसाधारणले सरकारी सेवा गतिलोसँग पाउन नसकिरहेको सरोकारवालाको भनाइ छ। 

जाजरकोटका स्थानीय पत्रकार वासुदेव शर्माले विद्युतका कारण स्थानीय जनता र पत्रकार मर्कामा परेको बताए। विद्युत अवरुद्ध हुदा सरकारी सेवा प्रवाहमा समस्या परेको  र स्थानीय सन्चार माध्यमहरुको सञ्चालनमा समेत अप्ठेरो भएको उनले बताए। छिन छिनमा जाने विद्युत हुनु भन्दा पुरै बन्द गरिदिए राम्रो हुने स्थानीय व्यापारी बुद्धिबहादुर खत्रीले बताए। ‘यस्तो बिजुली आउनु भन्दा मैनवत्तीमै बस्नु ठिक छ’, उनले आक्रोश पोख्दै भने। 

प्रकाशित: २२ जेष्ठ २०७६ ११:४१ बुधबार

कर्णाली विद्युत_अवरुद्ध कुलमान_घिसिङ स्थानीय