समाज

सडक विस्तारका लागि रुख काटियो

काठमाडौँ- उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउन करिडोर निर्माणको कामलाई तीव्रता दिइएको छ।    
    
 महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि अगाडि सारेको तीन महीने कार्ययोजनाअन्तर्गत करिडोर निर्माण कार्यलाई तीव्रता दिएको हो।    
    
 करिडोर निर्माणका क्रममा महाशाखाले आज काठमाडौँ महानगरपालिकाको सहकार्यमा बालाजु गुरु नानक मठ अगाडि रहेको रुख काटेर बाटो फराकिलो बनाएको हो।    
    
 उक्त करिडोर बढाएसँगै अब झोरदेखि बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु हुँदै शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी साधन चल्न सहज हुनेछ।    
    
 महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले रातोपुल, सेतोपुल, भत्केकोपुल, बालकुमारी पुल, नयाँ बसपार्क क्षेत्रमा करिडोर निर्माण गरिसकिएको जानकारी दिए।    
    
 यस्तै, महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि सवारी साधनमा प्रदूषण चेकजाँच, जेब्राक्रसिङ निर्माण, चालकलाई सचेतनामूलक कक्षालगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।    
    
 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै उपत्यकामा सवारी सञ्चालनमा सहज हुने बताउँछन्। “करिडोर निर्माण गरेर मात्र हुँदैन, सवारी साधन चल्ने खालको हुनुपर्छ”, उनी भन्छन्।    
    
 यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन सञ्चालनमा रहेका छन्। रासस

प्रकाशित: २२ जेष्ठ २०७६ ०९:५२ बुधबार

सडक_विस्तार रुख_कटान उपत्यका