समाज

धरानमा दुईदिनमै डेंगुका ६८ बिरामी

डेंगु नियन्त्रणका लागि मंगलबार धरान उपमहानगरपालिकामा आयोजित छलफल कार्यक्रम। तस्बिर: नागरिक

धरान - धरानमा डेंगु ज्वरोका बिरामीको संख्या निरन्तर बढिरहेको छ। हरेक दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीमा डेंगु ज्वरोका बिरामीको संख्या थपिँदै गएको छ। बिपी प्रतिष्ठानमा वैशाख ३१ यता डेंगुका बिरामी एक सय ७३ पुगिसकेका छन्। प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास साहका अनुसार गत वैशाख ३१ गते प्रतिष्ठानमा डेंगुका एकजना बिरामी भेटिएका थिए।

सोमबार ३५ जना डेंगुका बिरामी थपिएकोमा मंगलबार ५ बजेसम्म ३२ जना बिरामी थपिएको सहायक निर्देशक डा. साहले जानकारी दिए। ‘बिरामीको संख्या यही अनुपातमा बढ्दै जाने हो भने उपचारमा असहज अवस्था पनि आउनसक्छ,’ उनले भने। प्रतिष्ठानमा डेंगु ज्वरो संक्रमित बिरामीको उपचारको व्यवस्था आकस्मिक कक्ष र ट्रपिकल वार्डमा गरिएको छ। प्रतिष्ठानबाहेक धरानकै विजयपुर हस्पिटलमा मंगलबार थप एकजना डेंगुका बिरामी भर्ना भएका छन्। विजयपुर अस्पताल निर्देशक प्रभाव खतिवडाका अनुसार मंगलबारसम्म अस्पतालमा २६ जना डेंगुका बिरामी भर्ना भएका छन्। सो अपतालमा मंगलबार डेंगुका एकजना बिरामी थपिएका थिए।

सर्च एन्ड डिस्ट्रोय अभियान
डेंगुको प्रकोप नियन्त्रणबाहिर जान थालेपछि बुधबारदेखि धरानमा घरदैलोसहित बृहत् ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सुरु गरिने भएको छ। डेंगुका बिरामीको संख्या निरन्तर वृद्धि भए पनि जनप्रतिनिधि गम्भीर नभएको टिप्पणी भइरहँदा धरान उपमहानगरपालिकाले लामखुट्टेको बासस्थान पहिचान, अन्डा तथा लार्भा नष्ट गर्न बृहत् सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गर्ने भएको हो।

विज्ञ एवं चिकित्सकले बृहत् घरदैलो अभियान गर्न सुझाव दिएपछि मंगलबार उपमहानगरपालिकामा सरोकारवालाको बैठकले त्यस्तो अभियान तत्काल सुरु गर्ने निर्णय गरेको हो। ‘बुधबार बिहानै बजार क्षेत्रमा जनचेतना -याली र घरदैलो अभियान गर्छौं,’ कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले भनिन्, ‘त्यसपछि प्रत्येक वडामा सो अभियान चलाइनेछ।’ धरानमा गठन भएको विज्ञ टोलीसहितको -यापिड रेस्पोन्स टिमले केही दिनदेखि विभिन्न वडामा सर्च एन्ड डिस्ट्रोय अभियान चलाए पनि बृहत् रूपमा हुन सकेको थिएन।

प्रकाशित: २२ जेष्ठ २०७६ ०१:३२ बुधबार

डेंगु बिरामी बिपी_प्रतिष्ठान