समाज

दुई दिने अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन हुने

काठमाडौं – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ३ को आयोजना र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वयमा यही बुधबार २२ र २३ गते कुपण्डोल स्थित हिमालय होटलमा अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन सुरु हुने भएको छ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुई दिने सार्क युवा वैज्ञानिक सम्मलेन हुने जानकारी गराईएको हो। अन्तर्राष्ट्रिय स्तरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा भए गरेका उपलब्धिहरुको अनुभव साटासाट गर्दै सिर्जनशील तथा प्रतिभाशाली युवा वैज्ञानिकहरुलाई थप प्रोत्साहित गर्नुको लागि दुई दिने सम्मेलन गर्न लागिएको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख तथा सम्मेलनका संयोजक प्राध्यापक डा. दीपक अर्यालले बताए।

उनका अनुसार उक्त सम्मेलनमा नेपाल सहित बंगलादेश, भुटान, भारत, पाकिस्तान, श्रीलंका, जर्मनी, बेलायत, चीन र फिनल्याण्डका प्रतिनिधिहरुको सहभागिता रहने छ। सम्मेलनमा १६ जना अन्तर्राष्ट्रिय युवा वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपालको तर्फबाट ३५ जना युवा वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

पत्रकार सम्मेलनमा प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले स्थानीय स्रोत साधनको समुचित प्रयोग नभए सम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै विज्ञान तथा प्रविधिको विकासबाट मात्र स्थानीय स्रोत साधनको सही सदुपयोग सम्भव भएको बताए।

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:४६ मंगलबार

युवा_वैज्ञानिक सार्क सम्मलेन