समाज

वन्यजन्तु मुद्दाका घटे, लागूऔषध र बलात्कारका बढे

चितवन - जिल्ला कारागार चितवनमा कुनै समय वन्यजन्तु मुद्दाका कैदी र थुनुवा बढी हुन्थे। गैंडा मुद्दामा सजाय पाएका कैदी धेरै भएको भनेर त्यो कारागार चिनिन्थ्यो। तर पछिल्लो समय त्यहाँ लागुऔषध र जबर्जस्ती करणीका थुनुवाको संख्या बढ्दै गएको छ। कारागारमा वैशाखमा ७ सय २० थुनामा हुँदा सबैभन्दा बढी लागुऔषध मुद्दाका मात्र १ सय ६६ जना छन्। त्यस्तै जबर्जस्ती करणी मुद्दाका १ सय ५३ जना रहेको कारागारका सूचना अधिकारी रामबाबु श्रेष्ठले जानकारी दिए।

गैंडा मुद्दामा जेल परेकाहरू सजाय भुक्तान गरेर निस्कने र नयाँ दोषी नआउने भएकाले वन्यजन्तु मुद्दाका कैदी घट्दै गएको उनको बुझाइ छ। कारागारमा अहिले वन्यजन्तु मुद्दाका कैदी ९५ जना मात्र छन्। सूचना अधिकारी श्रेष्ठ २०४५ सालमा सो कार्यालयमा आएको वर्ष कर्तव्य ज्यान, जीउ मास्ने/बेच्ने अपराधमा संलग्न कैदी बढी हुन्थे। चोरी र डकैटी मुद्दाका अपराधी पनि अरू अपराधको तुलनामा केही बढी हुने गरेको उनी बताउँछन्।

द्वन्द्वकालमा भने गैंडा मार्ने क्रम बढ्यो। जसका कारण गैंडा मुद्दामा सजाय पाएका कैदीको संख्या बढ्दै गयो। कारागारमा ४ सयको संख्यामा कैदी र थुनुवा हुँदा २ सय ८५ जनासम्म गैंडा मुद्दाका कैदी हुने गरेको तथ्यांक रहेको उनी बताउँछन्। कारागारका प्रमुख कमलप्रसाद काफ्ले चितवनमा निकुञ्ज भएका कारण वन्यजन्तुको चोरीसिकार बढी हुने गरेको थियो। २०५२ सालदेखि २०६३ सम्म यस्ता मुद्दा धेरै थिए। यो अपराधमा पछि समातिएका पनि पहिलेकै अपराधका सहभागीहरू हुन्थे।

चोरीसिकार रोकिए पनि चितवन राष्ट्रिय निकुञ्जमा समेत मुद्दाको चाप धेरै मात्रामा घटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्। चोरीसिकार नियन्त्रणमा आएपछि मुद्दाका चाप कम भएको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीहरूमा पनि लागुऔषध र जबर्जस्ती करणी बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०६६÷६७ मा लागूऔषधमा २३ र जबर्जस्ती करणीमा १४ वटा उजुरी दर्ता भएका थिए।

पछिल्लो एक दशकमा सबैभन्दा बढी मुद्दा आव २०७२/७३ मा लागुऔषधका ७१ वटा रहेका थिए। जबर्जस्ती करणीको तथ्यांक हेर्दा सबैभन्दा बढी आव २०७४/७५ मा ५५ वटा दर्ता भएको पाइन्छ। चालू आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म भने लागूऔषधमा ६७ र जबर्जस्ती करणीमा ४४ वटा उजुरी दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। महिला र बालबालिका पीडित हुने जबर्जस्ती करणीका घटना बढी हुन थालेको उनको अनुभव छ। यसबाहेक सवारी ज्यान र आत्महत्याका घटनासमेत बढी हुन थालेको उनले बताए।

‘लागुऔषधको समस्या पनि प्रमुख रूपमा अगाडि आइरहेको छ,’ उनी भन्छन्, ‘हब नै बन्न सक्ने खतरासमेत देखिन्छ।’ समाजमा बस्दै आएका युवा समुदाय बेरोजगारीका कारण कुलतमा फसेको पाइने कारागार प्रमुख काफ्ले बताउँछन्। कारागारमै आइपुगेका कैदीको मनोभाव बुझ्दा पनि यही पाइएको उनी सुनाउँछन्। यो अपराधमा कारागार आइपुग्नेमा अधिकांश युवा छन्। जबर्जस्ती करणीका मुद्दाका दोषी पनि त्यति धेरै संख्यामा रहे पनि यसमा युवाहरू मात्र छैनन्। सजाय भुक्तान गर्नेमा पाका उमेरका मानिस पनि रहेको उनी बताउँछन्।

प्रकाशित: २० जेष्ठ २०७६ ०२:५८ सोमबार

वन्यजन्तु बलात्कार मुद्दा