समाज

किशोरी हत्याका मुख्य योजनाकार प्रेमी नै भएको खुलासा, २१ दिनपछि पक्राउ

पाँचथर– वैशाख अन्तिम साताको एक विहान जिल्लामा सनसनीपूर्ण खबर फैलियो, हिलिहाङ गाउँपालिका ४ को कात्तिके भन्ने ठाउँमा एक किशोरीको निर्मम हत्या भयो। कस्ले मार्यो, किन मार्यो भन्ने प्रश्नसहितका चर्चाले त्रास पनि फैलियो। 

हत्या भएको थियो १५ बर्षीय किशोरी शितल योङहाङको। हत्या साँझमा भएको थियो। प्रहरीले जानकारी पाउँदा राती भइसकेको थियो। तर भोलिपल्ट विहानैदेखि यो हल्ला छिमेकी जिल्ला तथा विदेशमा रहेका नेपालीसामू पुग्यो। प्रहरीले हत्यामा फाल्गुनन्द ३ पात्लेभञ्याङका पदम तामाङ र भगिरथ बास्तोलाले गरेको आशंका गर्यो। केही दिनदेखि माक्स लगाएर दुई युवक गाउँमा हिँडिरहेको आधारमा प्रहरीले उनीहरुमाथि शंका गरेको थियो। पदम शितलको प्रेमी भएकाले पनि प्रहरीको आशंका थियो। घटना भएको भोलिपल्ट विहान प्रहरीले आरोपी मध्येका भगिरथलाई फिदिम बजारबाट पक्राउ गर्यो। उनलाई पक्राउ गरेपछि हत्यामा प्रहरीको शंका सही भएको खुल्न आयो। भगिरथले हत्यामा संलग्नता रहेको स्वीकार गरे।

हत्याका मुख्य योजनाकारको रुपमा पदम रहेको खुल्न आयो। तर, पक्राउ गर्ने विषय प्रहरीको टाउको दुखाई भयो। पदम फरार भए। प्रहरीले जिल्लाबाट बाहिरिने विभिन्न नाकाहरु कडा सुरक्षा व्यवस्था बनायो। तर, पदमलाई पत्ता लाउन सकेन। पदमका आफन्तहरु, जानसक्ने सम्भावित ठाउँहरु लगायतको खोजी गरी अनुसन्धान बढायो। पदमले मोबाइल चलाएको देखिएन। चारैतिरबाट हत्यारा पत्ता नलागेको भन्दै त्रास र आक्रोश बढ्दै थियो। मुख्य योजनाकार पक्राउ नपरेपछि ज्ञापनपत्र, दबाव ¥याली लगायतका कार्यक्रम भइरहेका थिए।

अनुसन्धानमा ठूलो संख्यामा प्रहरी परिचालित भए। एक नम्बर प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्य प्रहरी युनिटबाट प्रहरी परिचालित भए। यसैबीच घटना भएको २१ दिनमा प्रहरीले किशोरी हत्याका मुख्य योजनाकार पदमलाई दमकको न्यूसम्पूर्ण होटलबाट पक्राउ गर्यो। होटलमा काम गर्दै गरेको अवस्थामा आइतबार पदमलाई पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए। उनको प्रारम्भिक बयान लिने तथा अन्य अनुसन्धानका काम अघि बढाइएको उनले बताए। 

साँझको समयमा तामाङकी प्रेमिका भनिएकी शितलको निर्मम हत्या भएको थियो। किशोरीको घरभन्दा माथि मान्छे नबस्ने घरमा घाटी रेटेर हत्या भएको थियो। बाँस्तोलालाई साथी लगेको खुल्न आएको छ। आफूले समातेको र पदमले घाटी रेटेको बाँस्तोलाले यसअघि प्रहरीसँगको बयानमा बताएका थिए।  तामाङको प्रेमिका रहेकी योङहाङसँग असमझदारी हुँदा हत्या भएको हुन सक्ने आशका भएको छ। अरु केटासँग फोनमा बोलेको निहुँ हुन सक्ने अनुमान गरिएको छ।  

प्रकाशित: १९ जेष्ठ २०७६ १५:१० आइतबार

हत्या किशोरी मुख्य_योजनाकार प्रेमी पक्राउ