समाज

गोसाइँकुण्ड मेला तयारी सुरु

रसुवा - गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापनका लागि तयारी सुरु गरिएको छ । यही जेठ २१ देखि २९ गतेसम्म सञ्चालन हुने मेलाको तयारी सुरु गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । हरेक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ ।

जनैपूर्णिमा मेलाको तुलनामा गंगादशहरा मेलामा कम तीर्थयात्री आउने गरेका छन् । अहिले मेलाको समयमा मात्र नभएर अरूबेला पनि तीर्थयात्री आउने गरेको समिति अध्यक्ष सञ्जीव डिएमले बताए । मेलामा करिब तीन हजारको हाराहारीमा तीर्थयात्री आउने अनुमान गरिएको छ । उनका अनुसार मेलामा तीर्थयात्री कम आउने भएकाले ठूलो तयारी गर्नु नपर्ने भए पनि सामान्य तयारी सुरु गरिएको छ । मेलालाई ध्यानमा राखी धुन्चेस्थित मिनि–गोसाइँकुण्डको मर्मत तथा सरसफाइ गरिने कार्यक्रम रहेको उनले बताए । नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले बताए ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गंगादशहरामा गरी वर्षको दुई पटक मेला लाग्ने गरेको छ ।

गोसाइँकुण्ड जाने तीनवटा बाटो सञ्चालन
गोसाइँकुण्ड जान धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्न तीनवटा मुख्य बाटा रहेका छन् । काठमान्डौं–धुन्चे–गोसाइँकुण्ड सबैभन्दा बढी चल्ती हुने बाटो हो । काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ ।
 
त्यसैगरी काठमाडौं–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी बाटो आउँछ । धेरै कम यात्रुले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन् । तर कुनै पनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन । कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुका साथै आपूmले चिताएको सबै आकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनी हजारौैं भक्तजन यहाँ स्नान गर्न आउने गर्दछन् ।

पौराणिक कथनअनुसार देवदानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान् शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूलधाराको उत्पत्ति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गंगादशहरामा गरी वर्षको दुईपटक मेला लाग्ने गरेको छ । मेला अवधिमा तराईका रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौं, काभ्रे, नवलपरासी, चितवन, पोखरालगायत विभिन्न तराईका जिल्लाका भक्तजन, भारतीय पूजारी, तीर्थालु, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड पुग्ने गरेका छन् ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०३:०३ आइतबार

गोसाइँकुण्ड_गोसाइँकुण्ड मेला पर्यटक