समाज

जनताको अधिकारमाथि चौतर्फी हस्तक्षेप : देउवा

बुटवल - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनताका अधिकारमाथि चौतर्फी हस्तक्षेप गरी प्रजातन्त्रमाथि नै हमला गर्न खोजेको बताएका छन्। कांग्रेस रूपन्देही जिल्ला सम्मेलनमा बोल्दै देउवाले न्यायलय, स्वतन्त्र प्रेस र मानवअधिकारमाथि सरकारले पञ्चायतमा भन्दा बढी नियन्त्रण गर्न खोजेको आरोप लगा।

स्वतन्त्र प्रेसमाथिको हमला प्रजातन्त्रमाथिको हमला भएको उल्लेख गर्दै उनले प्रेस कमजोर बनाउन ल्याइएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पारित हुन नदिने बताए। ‘वाक् तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि हामी २००७ सालदेखि लडेका छौं। त्यसलाइ खोस्न कांग्रेसले कदापि दिँदैन,’ देउवाले भने।

सरकारले न्यायपालिका र मानव अधिकार आयोगमाथिसमेत हस्तक्षेप गरी लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउन खोजेको आरोप पनि उनले लगाए। ‘जुन देशमा न्यायालय, मानवअधिकार र प्रेस जगत स्वतन्त्र रहन पाउँदैन त्यहाँ न प्रजातन्त्र रहन्छ न त्यो देशका नागरिक अधिकार सम्पन्न हुन्छन्,’ सभापति देउवाले भने। मानवअधिकार आयोगलाइ नै सरकार अधिनस्थ राख्न खोजिएको भन्दै उनले सरकारका यस्ता गलत कदम सफल हुन नदिने बताए। देउवाले सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ता पोस्नेगरी बजेट ल्याएको बताए। ‘जनताले कर तिरेको राष्ट्रको सम्पत्ति र विदेशबाट ल्यााएको ऋणले नेता कार्यकर्ता पाल्न पाइन्छ ? जनताको पक्षमा काम गर्नु पर्दैन ?,’ उनले भने।

कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले पछिल्लो समय मुलुकमा अस्थिरता झन् बढेर गएको बताए। दुईतिहाइको सरकारले जनताको हितका केही काम गर्न नसकेको भन्दै उनले कम्युनिस्ट सर्वसत्तावादबाट जनता निरास भइसकेको बताए। कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा केन्द्रय सदस्य बालकृष्ण खाँणले ओली सरकराले ऋण खोजेर आफ्ना पार्टीका नेता कार्यकर्तालाइ ध्यू खुवाउने बजेट ल्याएको टिप्पणी गरे। सो अवसरमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू दिपक गीरी, देवेन्द्रराज कँडेल, भरत शाह, प्रमोद यादव, अब्दुल रज्जाक, डिल्ली चौधरी, रामचन्द्र ढकाल, गंगा शाही, हीरा खत्री, रामप्रसाद अधिकारी, बाला अधिकारी, रामकृष्ण खाँणलगायतले बोल्दै जनताले विकास र सुशासनको अनुभूत गर्न नसकेको भन्दै त्यसविरुद्ध काग्रेस एक भएर सरकारविरुद्ध लड्नुपर्नेमा जोड दिए।

प्रकाशित: १९ जेष्ठ २०७६ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App