समाज

विभागीय प्रमुख चेम्जोङले लुकाए त्रिविको पत्र

काठमाडौं - त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले अमेरिकी सहयोग नियोग युएसएआइडीबाट प्राप्त रकम दुरुपयोगमा कारबाहीका निम्ति पठाएको पत्र मानवशास्त्र विभाग प्रमुख प्राध्यापक डम्बर चेम्जोङले लुकाएको थाहा भएको छ।

त्रिवि उपकुलपति कार्यालयका अनुसार, युएसएआइडीले उपलब्ध गराएको रकम दुरुपयोगमा कारबाहीका निम्ति विभागीय प्रमुख चेम्चेङलाई कार्यकारी परिषद्ले जेठ ९ गते पत्र पठाएको थियो। मानवशास्त्र विभागले उक्त पत्र औपचारिकरुपमा दर्ता गर्नु अनिवार्य हुन्छ। तर, संकाय स्रोतका अनुसार अहिलेसम्म उक्त पत्र दर्ता गरिएको छैन।

छानबिन प्रतिवेदनअनुसार सिफारिस गरिएको कारबाही अघि बढाउन कार्यकारी परिषद्ले विभागलाई पत्र पठाएको थियो। ‘मैले पत्र पाएको छु तर यसलाई जतिबेला पनि दर्ता गर्नुपर्छ भन्ने छैन। गोप्य पत्र कहिले दर्ता हुन्छन् र धरै पटक दर्ता नभएका पनि छन्,’ विभागीय प्रमुख चेम्जोङले दाबी गरे।

कार्यकारी परिषद्को निर्देशनअनुसार कारबाही गर्ने जिम्मेवारी विभागीय प्रमुखको भएको डा. चेम्जोङले स्वीकारे। ‘हामी यसको अध्ययन गर्दैछौं र छानबिन प्रतिवेदनका आधारमा कारबाहीका लागि अघि बढाउँछौं,’ उनले भने। कार्यकारी परिषद्को निर्णयअनुसार, परियोजनाका लागि आएको रकम त्रिविको लेटरहेड र छाप पदाधिकारीको अनुमति नलिई, विश्वविद्यालय नियमावली र कानुनविपरीत दुरुपयोग गरिएको थियो। उपकुलपतिको कार्यालयमा प्रस्तुत गरिएको छानबिन प्रतिवेदनअनुसार दुई भिन्न परियोजनाका लागि भनेर मानवशास्त्र विभागले १४ करोड रुपैयाँ युएसएआइडीबाट लिएको थियो।

उक्त रिपोर्टबारे छलफल गर्न त्रिवि उपकुलपतिले जेठ ५ गते बैठक बोलाएका थिए। उपकुलपति कार्यालयका अनुसार, बैठकलगत्तै कारबाहीका निम्ति विभागीय प्रमुख चेम्जोङको नाममा पत्र पठाइएको थियो। चेम्जोङकै संलग्नतामा युएसएआइडीको कोष दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ। प्राध्यापक डा अम्माराज जोशी, प्राध्यापक निलमकुमार शर्मा, उपप्राध्यापक अवतार सुवेदी र राजेन्द्र खनालको चारसदस्यीय छानबिन समितिले उक्त कोषबारे प्रतिवेदन दिएको थियो। त्रिवि कार्यकारी परिषद्को निर्णय अनुसार उक्त समिति गठन भएको थियो।

प्रकाशित: १८ जेष्ठ २०७६ ०२:०९ शनिबार

युएसएआइडी_कोष विभागीय_प्रमुख त्रिविको_पत्र