समाज

बागमतीमा बस खस्दा चालकको मृत्यु

सर्लाही- सर्लाहीको बागमतीबाट सिन्धुलीको महेन्द्रझाडी जोड्ने सडकखण्डमा गुडिरहेको बस बागमती नदीमा खस्दा चालकको मृत्यु भएको छ।

महेन्द्रझाडीबाट बागमती आउँदै गरेको ना. ३ ख ६६४२ नम्बरको यात्रुबस मोरङको उकालोबाट शुक्रबार बिहान बागमतीमा खस्दा सोही बसका चालक ३५ वर्षीय विरु राईको मृत्यु भएको हो। हरिहरपुरगढी गाउँपालिका-६ स्थित मोरङको उकालो निकै ठाडो रहेकाले यात्रु झारेर चालकले बस उकाल्ने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन्।

उकालोको टुप्पो नजिक पुग्नेबेलामा स्टार्ट बन्द भएपछि अनियन्त्रित भई बस तल खोलामा खसेको बताईएको छ।

रौतहट चन्द्रपुर नगरपालिका-१ निवासी चालक राईको घटनास्थलमै मृत्यु भएको छ। घटनास्थल सर्लाही स्थित पुर्व-पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर उतर सिन्धुली जिल्लामा पर्दछ। घटनास्थल सिन्धुलीमा पर्ने भएपनि उक्त जिल्लाका प्रहरी ईकाईको पहुँच निकै विकट भएको र सर्लाही प्रहरीको क्षेत्र नपरेकाले बिहान ८ बजे भएको घटनाबारे निकै ढिलागरी जानकारी प्राप्त भएको छ।

 

प्रकाशित: १७ जेष्ठ २०७६ ०९:०४ शुक्रबार

बस दुर्घटना बागमती