समाज

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ। आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो।

कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा उनका भाइ पुजन बम ठकुरीले चाउचाउको खोलभित्र लागुऔषध ल्याएको भेट्टाएपछि प्रहरीले बमलाई पक्राउ गरेपछि कार्कीले उक्त घटना मिलाइदिनुप-यो भन्दै प्रहरी निरीक्षकलाई १० हजार रुपैयाँ दिन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो। कार्कीले प्रहरीलाई ४० हजार रुपैयाँ दिन्छु, घटना मिलाइदिनुप-यो भन्दै तत्काल १० हजार रुपैयाँ दिँदादिँदै पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

अख्तियारको टोलीले उनको साथबाट एक लाख २० हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ। थानकोट वृत्तले यसअघि पनि घुस दिन खोज्ने चार जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०४:४१ बिहीबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग घुस पक्राउ