समाज

अर्खौले र माक्पामा सडक उद्घाटन

सडक बनेपछि अर्खौलेबाट फेदी पुगेका सवारी साधन । तस्बिरः नागरिक

खोटाङ– खोटाङको अर्खौले र माक्पामा सडक निर्माण गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा सुत्केरीढुंगा–रिठ्ठाबोटे–फेदी सडक निर्माण गरिएको हो।

प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको १० लाख र वडा कार्यालयको दुई लाख बजेटबाट अर्खौलेमा दुई किलोमिटर सडक निर्माण गरिएको हो। मध्यपहाडी लोकमार्गबाट छुट्टिएको सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको खिरिसँग जोड्नेगरी विस्तार गरिएको अर्खौलेका स्थानीय युवा नेता किशोरकुमार श्रेष्ठले बताए। सडक प्रदेशसभा सदस्य राजन राई र पुर्वसभाषद पिके राईले उद्घाटन गरेका छन्।

निर्माण गरिएको सडकमा अर्खौलेबाट फेदीसम्म यात्रुबाहक तथा मालबाहक सवारी साधन आवतजावत गर्न थालेको छ। वडा कार्यालयको बजेट खर्च भएको भएपनि सडक उद्घाटनकाक्रममा वडाध्यक्ष ज्ञानबहादुर पुरी उपस्थित भएनन्।

यस्तै, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाको नोरङ–लेवा–चइनटार सडक उद्घाटन गरिएको छ। २०७३ सालमा तत्कालिन गाविसको ५ लाख बजेटबाट निर्माण सुरु गरिएको सडक यस आर्थिक वर्ष गाउँपालिकाको १५ लाख र प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको १२ लाख गरी २७ लाखको लागतमा सो सडक निर्माण गरिएको हो। हालसम्म करिब ९ किलोमिटर खण्ड मात्र पूरा भएको सडक प्रदेशसभा सदस्य राजन राईले उद्घाटन गरेका हुन्। सडकले चइनटार जोड्न अझै करिब ३ किलोमिटर खण्ड खन्न बाँकी नै छ। सो सडकका लागि गत वर्ष गाउँपालिकाले १९ लाख खर्च गरेको रहेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए।

प्रकाशित: १५ जेष्ठ २०७६ १०:१८ बुधबार

खोटाङ अर्खौले_माक्पामा_सडक सुत्केरीढुंगा–रिठ्ठाबोटे–फेदी_सडक_निर्माण