समाज

ठेकेदार विरुद्ध जिल्ला प्रशासनमा उजुरी

प्रशासनमा दर्ता भएको उजुरी: डिबी /नागरिक

जुम्ला - नाग्म गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरे बापतको ज्याला नदिएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय जुम्लामा उजुरी दिएका छन्। उनीहरुले तत्काल छानबिन गरि असुल उपर गरिदिनका लागि माग गरेका हुन्।

हिमा गाउँपालिका वडा नं. १ बड्की, देयारगाउँ,आचार्यलिहीका स्थानीयलाई सडक निर्माणमा कामदारका रुपमा परिचालन गरेको र भएपनि अहिले सम्म ज्याला दिन आनाकानी गरिरहेको उजुरीमा उल्लेख गरिएको छ। स्थानीय नेत्रबहादुर शाही सडक निर्माणको जिम्मा पाएको थोदुङ निर्माण सेवा कम्पनीका सञ्चालक कार्मा नोर्बेल तामाङ ज्याला दिने विषयमा आफुलै जानकारी नभएको बताउने गरेको बताउँछन।

उनले भने,‘ मुख्य ठेकेदारले पहिलो चरणमा सहायक ठेकेदारको रुपमा रामराजा महतलाई जिम्मा दिए। बीचैमा उनीहरुको सम्बन्ध टुट्यो। फेरी अर्को सहायक ठेकेदार हरीहर काफ्लेले जिम्मेपारी सम्हाले। उनीसंगको ठेकेदारको सम्बन्ध पनि अहिले बिग्रेको छ, स्थानीय नेत्रले भने, मुख्य ठेकेदार तामाङ आफुले काम नलगाएको भन्दै पन्छिन खोज्दैछन्। सयहाक ठेकेदारहरु मुख्य ठेकेदारको जिम्मेवारी भएकोले आफुहरुले तिर्न नसक्ने बताउदै आएका छन्। कामदार अन्यौलमा छन्। अहिले मुख्य ठेकेदार आफै आएर काम गरिरहेका छन। तर कामदारको ज्याला दिन मानेका छैनन। ’

कामदारले त ज्याला पाएनन्। सडक निर्माणका क्रममा डोजर, ट्याक्टर र टिप्पर चालक सहचालक, साईडमा बस्ने कर्मचारीले खाएको उधारो समेत तिर्न सकेका छैनन्। काम गरेको एक वर्ष नाघिसक्यो, ज्याला दिन आलटाल गरिरहेका छन्। निर्माण कार्य सम्पन्न हुने अवस्थामा छ। स्थानीय रमेश बहादुर शाहीले भने, त्यसैले आवश्यक छानबिन गरि रकम असुुल गरिदिनको लागि स्थानीय प्रशासनमा उजुरी पदिन बाध्य भयो। उनीहरुले निबेदन उपर छलफल नभई सुनुवाई नभएको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम निर्माण कम्पनी र सरोकारवालाले लिनु पर्ने चेतावनी दिएका छन।

ठेकेदार कम्पनीवाट बाबुराम आचार्य तीन लाख,मनिराम रावत दुई लाख,चन्द्रबहादुर बुढा २५ हजार,नन्दलाल आचार्य ७५ हजार,अलिबहादुर शाही ८ लाख ६० हजार,दुर्गबहादर शाही एक लाख ३० हजार,भावना बम शाही ३६ हजार,बीरबहादुर शाही एक लाख ४४ हजार,लक्ष्मी कान्त अधिकारी ७५ हजार,देबिकृष्ण अधिकारी १२ हजार,गोपाल बहादुर शाही ५० हजार र मानसिंह सार्कीको एक लाख ४४ हजार रुपैयाँ लिनु पर्ने छ।

रमेशबहादुर शाहीका अनुसार सडक निर्माणका क्रममा प्रयोग हुने निर्माण सामाग्री गुणस्तरिय नभएको बताउँछन। सडकमा नाली बनाउने काम भएको छैन,८ मिटर हुनु पर्ने सडकको चौडाई तीन मिटरमा सिमित छ। सडक खण्डमा हाल्नु पर्ने ग्याबिन स्टमेट अनुसार राखिएको छैन्, उनले भने,‘ गुणस्तर जाँचियोस। कामदारको रकम अशुल उपर होस।’

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कामदारको रकम दिलाईदिने बिषयमा आफु गम्भीर बनेको बताईन्। स्थानीय नेत्र शाहीले भनेर्,स्थानीय प्रशासन र प्रहरीको धारणा निकै सकरात्मक छ। छानबिन गर्छौ भन्नु भएको छ। हामी छानविन गरेर न्याय पाउने आशामा छौँ। उनीहरुले ठगि मुद्धा चलाउन माग गरेका छन।

ठेकेदार उजुरी असुल_उपर