समाज

मार्सी संरक्षणका लागि रोपाई महोत्सव

रोपाई महोत्सवका फोटाहरु: डिबी /नागरिक

जुम्ला - पछिल्लो समय लोप हुदै गएको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले रोपाई महोत्सवको आयोजना गरेको छ। विश्वको सबैभन्दा उच्च स्थानमा मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा रोपाई महोत्सव गरिएको हो।

त्यो क्षेत्र समुन्द्री सतह देखि झण्डै २ हजार ८ सय ५० मिटर उचाईमा छ। झण्डै तिन दशकदेखि छुमचौर ज्युलोमा धान लगाउन छाडिएको थियो। स्थानीय सरकारको अगुवाईमा गत वर्षदेखि पुनः धान रोप्ने कार्य शुरु भएको छ। महोत्सवका माध्यमवाट कालीमार्सी धानको महत्व उजागार गर्न र किसानलाई मार्सी फलाउन उत्प्रेरणा दिनको लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए।

उनले भने, बजारमा मार्सी चामलको माग बढ्दो छ। मार्सीधान उत्पादन गर्ने किसानको जोश जागर निकै कम छ। किसानलाई उर्जा दिन र बजारमा आएको माग पुरा गर्न किसानलाई जागरुक गर्न महोत्सवले सन्देश दिन सफल भएको छ। पातारासी गाउँपालिकाका जनप्रतिनिधि कर्मचारी र स्थानीय किसानले संयुक्त रुपमा धान रोपेर महोत्सव मनाएका हुन।

गाँउपालिकाका अध्यक्ष लछिमान बोहोरा संस्कार र संस्कृतिसँग जोडिएको मार्सीधान संरक्षण गर्न किसानलाई उत्साह फैलाउने कार्यक्रम गरिरहेको बताए। उनले भने, छुमचौर ज्युलोमा लहलह मार्सीधान झुलेको हेर्न आउने बातावरण बनाउन कसरत भइरहेको छ।’यो समयमा अधिकांस किसान पाटनमा यार्सा टिप्न जाने भएकोले खेतहरु बाँझो हुन्थे। छुमचौर ज्युलोमा कालीमार्सी धान रोप्न सुरु गरिए पछि चौतर्फी चासो बढेको हो। स्थानीय सरकारले मार्सीधान जोगाउन पहल थालेको छ।

स्थानीय किसानमा मार्सी प्रतिको आकर्षण बढ्दैछ। गाउँपालिका अध्यक्ष बोहोरा भन्छन्,छुमचौर ज्युलोलाई पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्ने सोच बनाईराखेका छौँ। मार्सी धान संरक्षणका लागि डिपिआर बनाउदैछौँ। उच्च स्थानमा मार्सी फलेको र स्वाद चाख्न चाहनेका लागि उपयुक्त गन्तब्य बनाउदैछौँ। यसमा सरोकारवालाको साथ चाहिन्छ।’

तत्कालीन समयमा चन्दननाथ मन्दिरको शेरा ज्युलोबाट धानको बीउ लिएर छुमचौर ज्युलोमा रोपाइ गर्ने परम्परा थियो। गाउँपालिकाको सहयोगमा चौर र छुमगाउँका स्थानीयको खेतमा कालीमार्सि धान रोपिएको छ। छुम जीउलोमा २० पाथी र चौर जीउलोमा ३० पाथी धानको बिउ रोपिएको गाउँपालिकाले जनाएको छ। रोपाई महोत्सवमा चर्चित हाँस्यकलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुति थियो।

उनले मार्सधानको संरक्षण गर्न सके मात्रै छुमचौर क्षेत्रको बिकास हुने बताए। उनले भनेर्, धान खेति परम्पारगत संस्कार संग जोडिएकोले यो क्षेत्रको महत्व निकै बढि छ। ’जेठ महिनामा धान नरोपेको खण्डमा असोजको तुसारोले धान पाक्दैन्,कृषि ज्ञान केन्द्रका अर्थ विज्ञ  बालकराम दवकोटाले भने,‘ त्यहि भएर जेठमै रोपाई महोत्सव गरेर धुमधाम पुर्बक धान रोपियो। 

उनका अनुसार छुमचौर ज्युलोका धान पाक्न एक सय ५० देखि एक सय ६५ दिन सम्म लाग्ने गरेको छ। मार्सीधानमा ब्लाष्ट रोगको संक्रमण भएपछि उपचार विधि थाहा नपाउदा किसानले लगाउनै छाडेका थिए। अहिले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा धान रोपिन्छ। जुम्ला जिल्ला भरी १३ सय हेक्टर क्षेत्रफलमा मार्सी धान लगाईदै आएको छ।

प्रकाशित: १४ जेष्ठ २०७६ ०५:१६ मंगलबार

मार्सीधान रोपाई_महोत्सव कालीमार्सी