समाज

मधेस समृद्धिको तगारो ‘चुरे दोहन’

बलान नदीले निलेको खेतमाथि उभिएर बिजेग सुनाउँदै दिघियाका किसान। तस्विरःमिथिलेश

लहान- मरुभूमि जस्तै बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघिया’ को अस्तित्व नाम मात्रैमा सीमित छ। गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सीमानामा पुगेको छ। यसको कारण हो– बलान नदीले फेर्दै आएको धार।

एकताका गिरहत (जमिनदार) को गाउँ भनेर कहलिन्थ्यो यो गाउँ। एक हजारभन्दा बढी घरपरिवार अटाएको यो गाउँमा किसानको घना बस्ती थियो। अन्न उत्पादनका हिसाबले यस क्षेत्रमै उम्दा रहेको यो गाउँ अहिले भने खाद्य संकटको मारमा छ। विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत भएका छन्।

गाउँको अस्तित्व बचाइराख्न बाँध बनाइएको छ। स्थानीय राजलाल यादवले बाँधतर्फ औंल्याउँदै भने, ‘यहाँ हाम्रो गहिरो र फराकिलो पोखरी थियो। यो बाँधजत्तिकै उचाइमा अहिले बालुवाले पुरेर मरुभूमि बनेको ठाउँमा दिघिया गाउँ थियो। यो नदीले हामीलाई रित्तो बनाइदियो।’ गाउँको पश्चिमउत्तरबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो। छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस। तर, २०४६ ताका बलान अचानक गाउँतर्फ सोझिएर बस्ती डुबायो। त्यसपछि गाउँ त्यहाँबाट पूर्वतर्फ विस्थापित भयो। तर नदीले गाउँतर्फ कटान गर्न रोकेन। पाँच वर्षपछि फेरि बलानले बस्ती डुबायो। गाउँलेसँग अन्यत्र जाने विकल्प थिएन। कारण भएजत्ति जमिन यहीं थियो। डुबान र कटानबाट जोगिन बस्ती फेरि दुई किलोमिटर पूर्व चनहीतिर सर्‍यो। बाढीको वितण्डाका कारण एक दशकअघि त्यहाँबाट पनि यो गाउँ चनही गाउँको सीमामा सरेको छ।

पहिले गाउँको उत्तरपूर्वबाट आएको छिपछिपे पानी बगेर दक्षिणतर्फ जान्थ्यो। तर २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो। नदीले गाउँतर्फ कटान गर्न रोकेन। पाँच वर्षपछि फेरि बलानले सैयौं बिघा खेत डुबायो। डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन, पण्डितले भने,‘प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन नसक्दा वर्षै पिच्छे यहाँको खेत नदीले निल्दैछ। ’

स्थानीय इन्द्रदेव यादव भन्छन्,‘यो ठाउँसँग बाल्यकालको गहिरो सम्झना जोडिएको छ। आमाबुवा मिलेर खेती गर्नुहुन्थ्यो, मनग्य उब्जनी हुन्थ्यो। कृषि कर्मबाटै हामीलाई आमाबुवाले उच्च शिक्षा पढाउनुभयो। हेर्दाहेर्दै खेतसँगै परिवारको हरियाली पनि ओइलियो।’ गाउँको छेवैमा बग्ने बलान खोलाको पानीले दिघिया मात्र नभई चनही, मलहनियाका करिब पाँच सय बिघा खेतमा सिँचाइ पुग्थ्यो। तर नदीले धार परिवर्तन गरेसँगै सबै बगर बन्यो।

‘जैदिन स खेतमे बलान (नदी) पैसल ओही दिन स हमसब लल भ गेली (जुन दिन खेतमा बलान नदी पस्यो त्यसै दिनदेखि हाम्रो सर्वस्व भयो), ’ किसान राजलाल यादवले भने, ‘(हमसब किनहेरी किनहेरी घुस्कैत बैसैत आइब रहल छि (हामी किनार किनार सर्दै बस्दैछौं)।’ नदीले अन्तिम किनारा पनि च्याप्दै लगेको छ। गाउँ कच्ची बाँधको टेकोमा अडिएको छ।

दुई दशक अघिसम्म बलान नदी एकतर्फबाट मात्र बग्थ्यो। ‘त्यतिबेला बढीमा २० फिट थियो,’उनी सम्झन्छन,‘अहिले त गाउँ नै निल्यो, कति चौडा भयो अन्दाज गर्नुस्।’

बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ।  दस वर्षमा बलान नदीको पुरानो बहावको बीचमा पूर्वपट्टि अर्को धार बनाइदियो।

यो गाउँको अर्को रोचक पक्ष छ। गाउँका कसैको पनि जग्गा जमिन अर्को गाउँमा थिएन। अर्को कुनै गाउँलेको जग्गा जमिन पनि यो गाउँमा थिएन। स्थानीय कुन्ता यादव भन्छन्, ‘यहाँ सबैजना आफैं सम्पन्न भएकाले कसैले जमिन बेचेनन्। अर्को गाउँका कोही आउन पाएनन्। तर अहिले सबै किसान एकसाथ बिल्लीबाठमा परेका छौं। ’

सिरहा सखुवानन्कारकट्टी गाउँपालिका इटहर्वा टोलका बिहारी यादव एक दशकअघिसम्म जमिनदार थिए। गाउँभन्दा पूर्वमा उनको सात बिघाको एउटै कित्ता थियो। अहिले भने बिहारीको पहिचान फेरिएको छ। उनीसँग करिब १० बिघा जमिनको लालपुर्जा छ तर जमिन छैन। सात बिघाको कित्ता बलान नदीले निलेपछि उनको पहिचान फेरिन पुगेको हो।

यही गाउँका हरि यादवको परिवार पनि जमिनदार थियो। सगोलमा उनको परिवारसँग करिब २२ बिघा जमिन थियो। अहिले भने उनको अवस्था पनि बिहारीकै जस्तो भएको छ। यसको कारण हो– बलान नदीको फेरिएको धार।

एकताका गिरहत (जमिनदार) का गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोना लगायतका गाउँको परिचय फेरिएको छ। बलान नदी पश्चिमतर्फ मोडिएर खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान चिन्तित छन्। भगवानपुर, सखुवानन्कारकट्टी र तिलेबोना अन्न उत्पादनका हिसाबले उम्दा थिए। घना बस्ती रहेको यी गाउँका गिरहतका लागि वरदान मानिने बलान पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको छ। विगतमा धान र गहुँको बाला झुल्ने खेत अहिले बलान नदीमा मिसिएको छ। भगवानपुर गाउँपालिका वडा नम्बर १ का सदस्य श्रीप्रसाद पण्डितले भने, ‘यो नदीले हामीलाई रित्तो बनाइदियो।’

पहिले गाउँको उत्तरपूर्वबाट आएको छिपछिपे पानी बगेर दक्षिणतर्फ जान्थ्यो। तर २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो। नदीले गाउँतर्फ कटान गर्न रोकेन। पाँच वर्षपछि फेरि बलानले सैयौं बिघा खेत डुबायो। डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन, पण्डितले भने,‘प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन नसक्दा वर्षै पिच्छे यहाँको खेत नदीले निल्दैछ। ’

गाउँको छेउमै बग्ने बलान नदीको पानीले भगवानपुर, इटहर्वा, तिलेबोना र गढियाका करिब पाँच सय बिघा खेतमा सिँचाइ हुन्थ्यो। नदीले धार परिवर्तन गरेसँगै त्यो खेत सबै बगर बन्यो। हाम्रो जीवनमा हरियाली ल्याउने बलान नदी हिस्रक हुँदा हाम्रो जीवनपद्धती नै बिथोलिएको पण्डितले बताए।

चुरे मूल भएको बलान नदी त्यत्तिकै विनाशकारी बनेको होइन। चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको यस क्षेत्रका जमिनदार बताउँछन्।

गएको वर्ष बलान नदी पश्चिमतर्फ हानिँदा भगवानपुर गाउँपालिकाका १ र ४, सखुवानन्कारकट्टीका ५ र ४, लहान नगरपालिकाका २१, २३, २४ र २५ नम्बर वडाको करिब पाँच सय बिघा खेतीयोग्य जमिन कटान गरेको स्थानीयको अनुमान छ।

चुरे मूल भएका नदीबाट हुने कृषिजन्य विनास नियन्त्रण गर्न चुरे दोहन नै रोक्नुपर्ने वन तथा जलाधार विज्ञहरुको भनाई छ। जबसम्म चुरेमा दोहन रोकिँदैन तबसम्म तल्लो भूभागमा नियन्त्रणका लागि जतिसुकै काम गरे पनि टिकाउ हुन्न।

चुरे मूल भएको बलान नदी त्यतिकै विनाशकारी बनेको होइन। चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको  राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पूर्व सदस्य वन विज्ञ डा. नागरेन्द्रप्रसाद यादवले बताए।

चुरेबाट निस्केका खहरेको संख्या बढ्दै छ, जसले मानवीय, भौतिक र खाद्यान्न संकट थप्दैछ। चुरे विनाश रोकेर संरक्षणलाई तीव्र नबनाएसम्म खतराबाट जोगिन कठिन हुने वन विज्ञ यादवले बताए। चुरे संरक्षणको मुल लक्ष्य भनेकै चुरे रहे पानी पानी रहे हामी हो डा. यादवले भने, ‘जबसम्म चुरेको संरक्षण हुन्न तबसम्म कृषि उत्पादनमा बढोत्तरी हुँदैन, कृषि उत्पादनमा बृद्धि बेगर मधेसको समृद्धि सम्भव छैन्।’

चुरेसँग जोडिएको कृषि प्रणाली

व्यवस्था परीवर्तनसँगै गठन भएको प्रदेश २ को समृद्धि कृषिमै निर्भर छ। तर, कृषिमा आधारित किसानको पिरलोमा परिवर्तण आएको छैन। जसकारण प्रदेश २ को समृद्धिमा चुनौती थपिएको जानकारहरू बताउँछन्।

प्रदेश सरकारको तथ्यांक अनुसार यहाँको कुल पाँच लाख ३५ हजार दुई सय १८ हेक्टर खेतीयोग्य जग्गामध्ये चार लाख ८१ हजार दुई सय १४ हेक्टरमा मात्रै खेती हुन्छ। कुल खेतीयोग्य जग्गाको ६६.३ प्रतिशत अर्थात तीन लाख १८ हजार आठ सय ६९ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको प्रदेश सरकारको तथ्यांकले देखाउछ। यो कहालीलाग्दो अवस्था हो।

कृषि र खाद्यान्न उत्पादनका लागि मुलुकमै परिचित सप्तरीदेखि पर्षासम्मका आठ जिल्ला (प्रदेश २) पछिल्लो समय आफ्नो आवश्यकता अनुरुपको खाद्यान्न उत्पादन समेत हुन सकेको छैन। खाद्यान्न निर्यात गर्ने यो प्रदेश अहिले आद्यान्नमा परनिर्भर बनेको छ। चालु आर्थिक वर्ष ०७५/७६ का लागि प्रदेश २ ले ल्याएको बजेट तथा नीतिमा उल्लेख भए अनुसार आर्थिक वर्ष ०७२/७३ मा यी आठ जिल्लामा कुल ९ लाख ४८ हजार ६ सय ३९ मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो। यद्यपि उक्त वर्षको खपत भने १० लाख ६० हजार चार सय ८८ मेट्रिक टन थियो। अर्थात् १ लाख ११ हजार ३ सय ९५ मेट्रिक टन खाद्यान्न आयात गर्नुपरेको थियो।

प्रदेशको कुल कृषि भूमि मध्ये ७० प्रतिशत क्षेत्रफलमा कोसी पश्चिम, कमला, वागमती सिँचाइ नहरहरूबाट र अन्य साना कुलामार्फत सिंचाई गरिँदै आएको छ। तर, पछिल्लो समय बढ्दै गएको चुरे दोहन र खोलानदीको अनियन्त्रित दोहनका कारण सिंचाईको स्रोत खोलानदीमा पानीको स्रोत मात्र घटेको छैन सिंचित जग्गाहरु समेत बलुवाले पुरिएर खण्डहरमा परिणत हुँदै गएको वन तथा जलाधार विज्ञहरुको भनाई छ।

पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे १६४ वटा खोलाको मुहान हो। अन्य नदीको तुलनामा चुरेबाट बग्ने खोला बढी विनाशकारी हुन्छन्।

चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ। हिमालय उत्पत्तिको क्रममा करीब चार करोड वर्ष पहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो, चुरे। चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोलाहरु त्यत्ति नै ‘चञ्चल’ डा. यादव भन्छन्,‘त्यसमाथि, निरन्तर भइरहेको चुरे दोहनले खोलाहरूको धार परीवर्तन गर्दा बाढी–पहिरोको जोखिम झन बढाएको छ।’

गत वर्ष सप्तरीको तिलाठी आसपासमा बबण्डर मच्चाएको खाँडो खोलाको मुहान पनि चुरे क्षेत्रमै पर्छ। सप्तरीमा २३ हजार ६०४ हेक्टर चुरे क्षेत्र छ। यो जिल्लामा बढी कटान गर्ने सुन्दरी र बलान खोला चुरेबाटै निस्कन्छन्। वर्षेनि मरुभूमिकरण, बाढी, डुबान र कटानको चपेटामा पर्दै आएका सप्तरीवासीका लागि बाढी आउनु होइन, नआउनु चाहिं अनौठो विषय बन्ने गरेको छ। सप्तरी सिरहालगायत मधेस क्षेत्र वर्षेनि बाढी–पहिरोको प्रकोपमा पर्नुको मुख्य कारण चुरेमा भैरहेको अनियन्त्रित दोहनलाई मानिएको छ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य समेत रहेको डा. यादव भन्छन्, चुरेमा दोहन(वन पैदावारको अनियन्त्रित फडानी तथा उत्खन्न) मात्र रोक्न सक्दा पनि तराई मधेसका खेत मरुभूमिकरण हुनबाट धेरै हदसम्म जोगिन सक्छ।

ओझेलमा मधेस समृद्धिको निती

इलामदेखि कञ्चनपुरसम्म ३६ जिल्लामा मुलुकको कुल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्र पर्छ । चुरे क्षेत्रलाई वातावरण संरक्षण ऐन २०५३, नियमावली २०५४ को दफा (१०) ले दिएको अधिकार प्रयोग गरी ०७१ असार १६ गत्ते सरकारले वातावरण संरक्षण क्षेत्र घोषणा गरिएको निर्णय गर्यो। उक्त निर्णय  नेपाल राजपत्र भाग ५ मा प्रकाशित भयो।

उक्त क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ संकलन, उत्खनन गर्न प्रतिबन्ध छ। यद्यपि, सरकारकै जिम्मेवार अंगले उक्त निर्देशन पालनामा आनाकानी गर्दा चुरे दोहोन थामिएको छैन। स्थानीय तहले बर्सेनि लगाउँदै आएको नदीजन्य पदार्थ बिक्री ठेक्कामै उक्त निर्णय पालना गराएको पाइदैन। जसले मधेस समृद्धिको मेरुदण्ड मानिएको कृषिमाथि नकारात्मक असर पुर्याउँदै छ।

 

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०४:२५ मंगलबार

चुरे समृद्धि मधेस बाढी