समाज

‘नेपाल–चीनको एउटा सेतु विश्वभाषा कलेज’

काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तगर्तको एक मात्र भाषा क्याम्पस विश्वभाषा कलेजको निमन्त्रणामा नेपाल भ्रमणमा आएका चीनको सान्सी प्रान्त उपप्रमुख लि सिआओ डोङ नेतृत्वको टोलीले कलेज भ्रमण गरेका छन्। नेपालमा चीनियाँ भाषामा अधिक विद्यार्थीको रुचि भएको थाहा पाउँदा खुसी लागेको बताउँदै उपप्रमुख डोङले कलेजले नेपाल र चीनबीचको एउटा सेतुको काम गरेको बताए।

कलेज प्रमुख भीमनाथ रेग्मीसँग भेटवार्ता गर्दै उपप्रमुख डोङले कलेजको चिनियाँ भाषाका साथै अन्य भाषा पठनपाठनबारे जानकारी लिएका थिए। उनले कलेजमा छात्रावास बनाउने चिनियाँ सरकारले सहयोग गर्ने बताए। सान्सी प्रान्तका युनाइटेड फ्रन्ट विभागका डेपुटी मिनिस्टर चेन गुवाङ मिङले चीन सरकारले नयाँ चीनको परिकल्पना गरिरहेको सन्दर्भमा भाषा दुई देशबीच सम्बन्ध जोड्ने आधार भएको बताउँदै सबै भाषालाई उत्तिकै महŒव दिनुपर्ने बताए। उनले अबका दिनमा नेपाल र चीनबीच प्राज्ञिक आदानप्रदान हुने वातावरण बनाउनुपर्ने बताए।

चिनियाँ सरकारको प्रतिनिधि टोलीमा सान्सी प्रान्तका मेडिकल एन्ड हेल्थ स्पोर्ट कमिटी निर्देशक गङहन जियाङ, सान्सी रेजिमेन्ट पार्टी समितिका सिआओ लङ, सान्सी ओभरसिज एक्सचेन्ज एसोसिएसनका लि या नान, चाइनिज फेडेरेसन पार्टीका सचिव चेङ मिआन गुइलगायतका १५ सदस्य सम्मिलित थिए।

क्याम्पस प्रमुख रेग्मीले कलेजमा कुल ६ हजार विद्यार्थी विभिन्न भाषा अध्ययन गरिरहेको बताए। जसमा ५ सय विद्यार्थी हिमालय भाषा नेपाली, नेवारी, संस्कृत, पालीलगायतका भाषा अध्ययन गरिरहेका छन। नेपाली विद्यार्थीहरुमा विदेशी भाषामध्ये चीनियाँ भाषामा रुचि भएको बताए। कलेज प्रमुख रेग्मीले भने, ‘वर्षेनी हजार विद्यार्थी चिनियाँ भाषा अध्ययनका लागि भर्ना हुन्छन्। यस्ता विद्यार्थीमा व्यापार, व्यवसाय र पर्यटनसँग सम्बन्धित अधिक छन्।’

चिनियाँ भाषा बाहेक कलेजमा कोरियन, जापानिज, रसियन, स्पेनिस, फ्रेन्च, इटालियन, जर्मन, अरबिक, अंग्रेजीलगायतका भाषा पठनपाठन गराएउँदै आएको छ। गत वर्षदेखि कलेजले नेपाली भाषामा स्नातक तह सुरु गरेको छ भने अगामी शैक्षिक सत्रदेखि चिनियाँ, कोरियन र जापनिजमा पनि स्नातक तह सुरु गर्ने योजना रहेको प्रमुख रेग्मीले जनाए।

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:५३ मंगलबार

विश्वभाषा_कलेज नेपाल_भ्रमण